• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चुनावी सभामा राप्रपाका नेता भन्छन–‘नेकपा, कांग्रेस असफल, अबको विकल्प राप्रपा’

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन् । दाङको क्षेत्र नं ३ (ख) मा हुने उपनिर्वाचन अन्तर्गत हापुरेमा बिहीबार भएको चुनावी सभामा बोल्दै नेता बोहराले संबिधानको परिधिभित्र रहने राजसंस्थाको पुनःस्थापनाका लागि राप्रपा मात्रै होइन देशका सबै राजनीतिक शक्तिका बीचमा बहस हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले देशको स्थायित्व, विकास, एकता र समृद्धिका लागि राजसंस्था, हिन्दु राष्ट्र र सुदृढ स्थानीय शासनको पक्षधर राजनीतिक शक्तिहरु कहिल्यै पुरातनवादी नहुने बरु अग्रगमनकारी हुने ठोकुवा गरेका छन् । नेता बोहराले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्बजनिक गरेको भन्दै उनले सर्बदलिय बैठक मार्फत सरकारलाई उच्च मनोबल प्रदान गरेतापनि सरकारले भारतसंग कुटनैतिक ढंगबाट वार्ता गरि समस्याको समाधान गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा खेलाँची गरिरहेको बताएका छन् ।

राप्रपा उपाध्यक्ष प्रेमबहादुर भण्डारीले अहिले नेपालमा जबरजस्ति धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले कालान्तरमा धर्मयुद्ध निम्त्याउन सक्ने समेत बताए ।  अहिले नेपालमा जसरी धर्म परिबर्तन भईरहेको छ, यो संबिधानको मर्म र भावना बिपरित छ’ उनले भने ‘ यसले भबिष्यमा ठूलो धर्म युद्ध निम्त्याउन सक्ने भन्दै यसमा सचेत हुनुपर्ने अबस्था रहेको छ ।

त्यस अवसरमा राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले वर्तमान सरकारले सरकारको अनुभूति दिन नसकेको र कांग्रेस सरकारको गलत क्रियाकलापको भागिदार भएको, प्रतिपक्षको भूमिका निर्वाह गर्न चुकेको भन्दै वैचारिक राजनीतिक रुपले राप्रपा देशको असली प्रतिपक्ष रहेको बताएका छन् । आसन्न उपनिर्वाचनको परिणामले कुनै पनि तहको सरकारको सन्तुलनमा असर पर्दैन तर देशले दुई वर्षमा तय गरेको बाटो गलत छ कि सहि छ भन्ने ‘मिनी’ जनमत संग्रह को रुपमा उप निर्वाचनको परिणामले स्पष्ट पार्ने सांसद लिङ्देनले बताए । 

वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न यो उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने बताउँदै लिङ्देनले उपनिर्वाचन सत्तापक्ष र प्रतिपक्षको अग्निपरिक्षा भएको समेत बताएका छन् । महामन्त्री लिङ्देनले देशमा ठूला ठूला भ्रष्टाचार काण्ड भइरहेको तर खरदार सुब्बा समात्ने तर ठूला भ्रष्टाचारीलाई सरकारले संरक्षण दिने गरेको बताउँदै सरकार लुट्ने काममा मात्रै सीमित रहेको धारणा व्यक्त गरेका छन् ।

अर्का महामन्त्री एवं नेपालगन्ज उपमहानगरका मेयर डा।धवलशमसेर राणाले हिन्दु राष्ट्र र राजसंस्था नेपालको स्थायित्वको आधार भएको बताउँदै निहित राजनीतिक स्वार्थका लागि सदियौंदेखिको सामाजिक सदभाव र एकता बिथोल्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा (ख) का उम्मेदवार भुपाल रावतले आफुले बिजय हासिल गरेमा क्षेत्रको विकासमा निस्वार्थ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदीप कुमार उदय, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, पाँच नम्बर प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर