• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नदीजन्य सामग्रीको चोरी निकासी तीव्र

तिनाउ किनारका झाडीबाट कैयौं टिप्पर सामग्री बरामद

 बुटवल । जिल्लाको तिनाउ र दानव नदी किनारबाट अवैध रूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट अवैध रूपमा सामग्री निकालेर लुकाएर राखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो ।

बुटवल उपहानगरपालिकाले अनुगमनका क्रममा नदी किनारका झाडीमा नदीजन्य फेला पारेको थियो । नदी किनारका झाडीमा झडै ७० टिप्परजति नदीजन्य सामग्री फेला परेको र त्यसलाई उपमहानगरले नियन्त्रणमा लिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

उपहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, त्यस क्षेत्रका वडाका अध्यक्षहरु, राजस्व महाशाखा, वित्त व्यवस्थापन महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको टोलीले त्यसक्षेत्रको अनुगमन गरेको थियो । यद्यपि, अनुगमनको टोलीको गाडी देख्नासाथ त्यहाँ अवैध उत्खनन गर्ने समूह गाडी र सामान छाडेर भागेका थिए । 

‘सुरुमा पाँच–सात ठाउँमा थुप्रा देखिए, त्यसपछि हेदै जाँदा दर्जनौं ठाउँमा लुकाइराखेको अवस्थामा सामान फेला परेको छ,’ अनुमगनमा गएका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले भागेका गाडी र मान्छेका बारेमा खोजी भइरहेको बताए ।


 
बुटवल उपमहानगरपालिकाको वडा नं. १७ को हरिहरपुर र धन्दापुरमा यसअघि नदीजन्यको ठेक्का लगाइएको थियो । सोही ठाउँ र नजिकैका विभिन्न स्थानबाट अवैध रूपमा सामग्री निकाल्ने गरेको सूचना पाएपछि उपमहानगरले एकैसाथ अनुगमन गरेको हो । 

उपमहानगरपालिकाका प्रमुखको सक्रिय सहभागितामा हालसम्म ६४ टिप्परभन्दा पनि बढी अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिईएको उपमहानगरको राजश्व महाशाखाले जानकारी दिएको छ । 

झाडीमा लुकाइराखेको सामन सबै उपमहानगरले नियन्त्रणमा लिएर आफ्नै गाडीमा उठाएको छ । उपमहानगरले ठेक्का लगाएका नाकाहरुमा उत्खनन् देखि घाटगद्दी गर्ने सम्मका कामको निरन्तर अनुगमन गर्न समिति बनाएको थियो । 

अवैध उत्खनन र निकासी गर्ने गाडीलाई मात्र नियन्त्रणमा लिने गरिएकोमा अबदेखि गाडीका चालक र मजदुरलाईसमेत नियन्त्रणमा लिएर कानुनी कारवाही गर्न उपमहानगरको राजश्व र वित्त व्यवस्थापन महाशाखालाई निर्देशन दिइएको प्रवक्ता रेग्मीले बताए । अनुगमन टोलीले भागेका गाडीहरुकोसमेत खोजी गरिरहेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर