• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

१३औँ सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

नेपालले प्याराग्लाइडिङबाट कम्तीमा ६ स्वर्ण पदकको आशा गरेको थियो

पोखरा । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ ।

सागको नियमअनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ । खेलाडी दर्ताको अन्तिम दिन बुधबारसम्म नेपाल र पाकिस्तानबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए ।  

एक टिममा पाँच पुरुष र महिला तीन गरी आठजना सहभागी हुनुपर्ने भए पनि पाकिस्तानबाट समेत दुईजना खेलाडी मात्र दर्ता भएका दिए । गत वर्ष इण्डोनेसियामा सम्पन्न एसियन गेममा नेपालले जितेको एक मात्र रजत पदक प्याराग्लाइडिङमा थियो । सागमा प्याराग्लाइडिङबाट नेपालले कम्तीमा ६ स्वर्ण पदकको आस गरेको थियो भने खेलाडीले गत वैशाखबाट तयारी सुरु गरेका थिए । 

प्रतियोगितामा एकल क्रसकन्ट्री महिला र पुरुष, समूह क्रसकन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको थियो । नेपालले ६ स्वर्ण पदक जित्ने लक्ष्यसाथ तयारी गरे पनि प्रतियोगिता नहुने भएपछि खेलाडी तथा प्रशिक्षक निराश बनेको नेपाल प्याराग्लाइडिङ तथा ह्याडग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले  बताए । 

सागमा सहभागी हुने नेपाल बाहेकका अन्य प्याराग्लाइडिङको राष्ट्रिय संघ नहनु तथा स्थानीय क्लबलाई ओलम्पिक कमिटीले मान्यता नदिएकाले पनि अन्य देशको सहभागिता नभएको रावतको भनाइ थियो । महिला क्रिकेट, महिला फुटबल, आर्चरी, बिच भलिबल, ब्याडमिन्टन, ह्यान्डबल, भारोत्तोलन, र ट्र्याथलन खेल गरी आठ प्रतियोगिता भने पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ ।

पोखरामा हुने साग खेलकुदमा १४४ खेलाडी सहभागी बन्नेछन् । जसमा महिला ९२ र पुरुष ५२ छन् । आर्चरीको प्रतियोगितास्थल र अभ्यासस्थल पोखरा रंगशाला तोकिएको छ  । भारत्तोलन पोखरा–१२ स्थित केसी क्याटरिङ सर्भिस, ह्यान्डबल रंगशालामा हुनेछ ।

फुटबलको प्रतियोगिता रंगशालामा हुनेछ भने गौरीशंकर खेलमैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतनामा अभ्यासस्थल तोकिएको छ । बिच भलिबल फेवाताल किनार बाराहीघाट, ट्रायथोलन बसुन्धरापार्क, ब्याडमिन्टन रंगशाला, क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्र तथा प्रतियोगिता रङ्गशालामा सञ्चालन हुने साग प्राविधिक समितिका सचिव बलराम थापाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर