जिल्ला समन्वय अधिकारीको निधन, जिल्लाका सबै स्थानीय तह र विद्यालयय विदा 

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत रहेका बस्यालको ६८ वर्षको उमेरमा हिजो दिउँसो उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । 

तानसेनको मिशन अस्पतालमा उपचारका क्रममा फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । बस्याललाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । २००९ साल बगनासकाली गाउँपालिकाको यम्घामा जन्मेका बस्याल कम्युनिष्ट पार्टीको संगठन, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानको रुपमा परिचित थिए । बस्याललाई पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा औपचारिक राजनितीमा लागेका थिए । जिल्ला समन्वय समितिका बहालवाला प्रमुख भएकाले जिल्लाका सबै स्थानीय तह, शिक्षणसंस्था विदा दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाईको शिक्षा समितिका अध्यक्ष भएकाले पनि विद्यालय विदा दिइएको छ । स्थानीय तहका सबै जनप्रतिनिधिले श्रद्धाञ्जली सभा गर्ने र शोक पुस्तिका राखेर एक दिनका लागि विदा दिइएको छ । 

बस्याललाई श्रद्धाञ्जली दिन प्रदेश ५ का भौतिक योजनामन्त्री बैजनाथ चौधरी, संघीय, प्रदेश सांसद साथै जिल्लास्तरीय सबै राजनीतिक दलका नेताहरु सहितको टोलीले जिल्ला समन्वय समितिको प्राङ्गणबाट नेकपा कार्यालय हुँदै टुँडिखेलमा अन्तिम श्रद्धान्जली दिएपछि कालीगण्डकी नदीको राम्दीघाट लगिएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर