देउडा पर्व मनाउन कर्णालीमा साउन १ गते सार्वजनिक विदा

यस्ता छन् सरकारका अन्य निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेश स्थपना तथा शहिद दिवस मनाउने भएको छ । प्रदेश घोषणा गर्दा कर्णाली प्रदेशलाई सुदूरपश्चिममा मिसाउने भएपछि भएको आन्दोलनको क्रममा ४ जनाको मृत्यु भएको थियो । सोही सम्झनामा सरकारले भाद्र ४ लाई प्रदेश स्थापना र शहीद दिवस मनाउने घोषणा गरेको हो । 

त्यस्तै, कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा पर्व मनाउने भएको छ । देउडा पर्व मनाउनका लागि प्रदेश सरकारले साउन १ गतेलाई सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । प्रत्येक महिनाको १ गते र १५ गते कर्णाली प्रदेशका पहाडी जिल्लाका देउडा प्रेमीले सदरमुकाम आएर देउडा खेल्ने गरेका छन् । 

सरकारले साउने सक्रान्तिमा विदा दिने भएपछि देउडा संस्कृतिको जगेर्ना गर्नका लागि टेवा पुगेको कालिकोट जिल्लाका देउडा सम्राटको उपाधि लिएका नेत्रराज शाहीले बताए । शुक्रबार कर्णाली प्रदेश सरकारका निर्णय सुनउँदै सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री विमला केसीले सो कुराको जानकारी दिइन् । 

यस्तै, कर्णाली सरकारले माघी पर्व, भोट ल्होसार र वकर इदका अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।  सरकारले प्रदेश अस्पताललाई आवश्यक पूर्वधार निर्माण गरी शिक्षण अस्पताल संचालन गर्नका लागि सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सहमति दिने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् । 

यसैगरी ढुंगा गिट्टी बालुवा उत्खनन, क्रसिङ र बिक्री, कर्णाली उज्यालो कार्यक्रम बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमको कार्यविधि लगायतका विभिन्न नौवटा कार्यविधि स्वीकृत गरेको छ । यस्तै सरकारले भेरी बबई डाइभर्सन आयोजनाको दायाँ किनाराबाट थप जलविद्युत्त उत्पादन गर्नेबारे सम्भाव्यता अध्ययन, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाटै तयार गरी प्रदेश सरकारलाई दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सोही आयोजनामा प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई प्रतिनिधि चयन गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर