• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

डोल्पा : हात भाँच्चिएकी शिक्षिकाले उपचारका लागि जान आफ्नै पहलमा हेलिकप्टर झिकाइन्

डोल्पा । डोल्पामा घोडाबाट लडेर हात भाँच्चिएकी एक शिक्षिकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ बस्ने ३३ वर्षीया नवनियुक्त शिक्षिका यशोधा वलीको घोडाबाट लडेर दायाँ हात भाँच्चिएपछि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

बिहिबारमात्रै शिक्षा विकास तथा समन्वय एकाइबाट नयाँ नियुक्ति लिएकी वली आफू पदस्थापना भएको उपल्लो डोल्पामा पर्ने विद्यालयमा हाजिर हुन जाने क्रममा शुक्रबार शे–फोक्सुडो गाउँपालिका–८ मा पर्ने ¥याचीमा लडेर हात भाँच्चिएको हो ।

शिक्षिका वली नयाँ नियुक्ति लिएर शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने पुग्मो गाउँस्थित गौतमबुद्ध आधारभूत विद्यालय जाँदै थिइन् । हात भाँच्चिएको पीडा सहन नसकेर शिक्षिका वलीले व्यक्तिगत पहलमा ‘चार्टर’मा हेलिकप्टर बोलाएपछि उपचारका लागि पोखरा लगिएको छ ।

हवाई सेवा प्रदायक निजी कम्पनीले डोल्पासम्म हेलिकप्टर ‘रिजर्भ’मा बोलाएको मात्रै पाँच लाख रुपैयाँदेखि आठ लाखसम्म उठाउने गर्दछन् । उपल्लो डोल्पाका विभिन्न गाउँबस्तीसम्म पुग्न अप्ठ्यारो भिरको घोरेटो बाटो र अग्ला लेक चढ्नुपर्ने भएकाले उपल्लो डोल्पाको यात्रा चुनौतीपूर्ण मानिन्छ ।

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरण नभएकाले सामान्य खाले मात्रै शल्यक्रिया हुन्छ । डोल्पालीको आशालाग्दो अस्पतालमै जटिल प्ररकारका शल्यक्रिया नहुने भएपछि गम्भीर प्रकृतिका बिरामी, लामो समयसम्म सुत्केरी हुन नसकेका महिलालाई लाखौँ रुपैयाँ तिरेर हेलिकप्टर रिजर्भ गरेर शहरका सुविधायुक्त अस्पतालमा पठाइन्छ ।

गम्भीर बिरामी परेर पनि आर्थिक स्रोत बलियो नभएर हेलिकप्टर झिकाउन नसक्ने डोल्पाली नागरिक उपचार नपाएरै अकालमै ज्यान गुमाएका कैयौँ उदाहारण छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर