हेलिकोप्टर ‘चार्टर’सहित तामझामका साथ बाल विवाह, जनप्रतिनिधि र सुरक्षाकर्मी रमिते !

जनकपुरधाम । धनुषामा बडो तामझामका साथ बालविवाह गराएको घटना बाहिरिएको छ । 

धनुषाको कमला नगरपालिकामा किशोर किशोरीको विवाह तामझामका साथ गरिएको हो । हुनत विवाह त्यती चर्चाको विषय बन्दैनन् तर यो विवाह दुई कारणले चर्चाको विषय बनेको हो । पहिलो यो बालविवाह थियो भने अर्को दुल्हालाई हेलिकप्टर चार्टर्ड गरेर ल्याइएको थियो ।  

शनिबार मध्यान्ह धनुषाको कमला नगरपालिका –४, बल्हा सघारा स्थित भर्खरै धान काटिएको खेतमा आर६६ टर्बाइन हेलिकोप्टर अवतरण भए लगत्तै हजरौँ स्थानीयको भीड लागेको थियो । पहिल्यै देखि नै यो विवाह चर्चाको विषय गाउँमा भएकोले हजारौँ स्थानीय जम्मा भएका थिए । 

हेलिकोप्टर अवतरण भएपछि हेलिकप्टरबाट १८ वर्षिया किशोर दुल्हा सम्साद सबैभन्दा अगाडी ओर्लिए भने त्यसपछि उनी संगै हेलिकप्टरमा सवार दुल्हाका बुवा र अन्य दुईजना ओर्लिए । अन्यत जन्तीहरु भने हेलिकप्टर अवतरण हुनुभन्दा अगावै दुई दर्जनभन्दा बढी जीपमा सवार भएर पुगि सकेका थिए । 

यो बालविवाह ग्रामीणहरुका लागि मनोरञ्जनको विषय भएपनि कानूनको हिसाबले दण्डनीय रहेको छ । तर सो बालविवाहमा जनप्रतिनिधिहरु तथा सुरक्षा निकाय समेत रमिते बनेको देखियो । 

एक निजि विद्यालयका संचालक बल्हासघाराका सतार कबारी आफ्नो १६ वर्षिया छोरी सबनमको विवाह चर्चाको विषय बनोस भन्ने ईच्छाका साथ ज्वाईलाई हेलिकप्टर चार्टर्ड गरेर ल्याउन लगाएका थिए । 

१२ बजे जन्ती सहित आएका किशोर दुल्हा आफ्ना १६ वर्षिया दुल्हीलाई ४ बजेतिर आफ्नो् घर सिरहाको सुखीपुर नगरपालिका लर्कन्हाका लागि हेलिकप्टरबाट फर्किएका थिए । 

सो बालविवाह तामाझामका साथ सम्पन्न भयो । विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार लगायतको समेत उपस्थिति रहेको थियो । भनिन्छ सुरक्षा निकायका पदाधिकारीहरु वैवाहिक समारोहलाई सुरक्षा प्रदान गर्नकै लागि सहभागी भएका थिए । 
कानूनी हिसाबले यो विवाह गैरकानूनी थियो । 

तपाई पनि बालविवाहको साक्षी बन्नुभयो नि प्रश्नमा बिवाहमा सहभागी सोही वडाका वडाअध्यक्ष पल्टु कबारीले भने, ‘मलाई के थाहा बालबिवाह भएको हो की, के हो रु म सबैको जन्मदर्ता हेर्दै हिडछु र, गाउँमा हुने बिवाहमा निम्तिो थियो, भोज खाएर आए, अरु मलाई केही थाहा छैन ।’

निकाह भएको किशोर सम्साद भने जनकपुरधामस्थित मोडेल मल्टिपल कलेजबाट कक्ष १२को परिक्षा दिएका छन् । किशोरी भने गाउँकै विद्यालयमा कक्षा १०मा अध्ययनरत थिइन् । 

स्थानीय चौकी ईन्चार्ज दनुवारले दुल्ही बुर्कामा रहेकाले केटीको उमेर कति होला भन्ने अनुमान लगाउनु कठिन थियो प्रतिक्रिया दिए । गाउँ ठाउँमा हेलिकोप्टर आएपछि हेर्नेको भीड लाग्ने भएर कुनै असुरक्षाको अवस्था नहोस् भनेर मात्रै सुरक्षा प्रदान गरेको बताए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले २० वर्ष मुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताउँदै त्यस्तो गर्ने र गराउने दुवैलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ कँडेलले यो विवाह सम्बन्धमा भने अनभिज्ञता प्रकट गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर