जनकपुरधाममा विवाहपञ्चमीको रौनक [फोटोफिचर]

जनकपुरधाम । मिथिलाञचल क्षेत्रको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट शुरु भएको छ । जनकपुरधाम अहिले विवाहपञ्चमी महोत्सवका कारण भरिभराउ छ । श्रद्धालु भक्तजनले पूरै जनकपुरधाम क्षेत्र भरिएको छ भने विवाहपञ्चमीका लागि श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ ।

जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहल पहल देखिएको थियो । आखिर किन नहोस सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शन थियो । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो ।

मंगलमय दिन आजु हे, पाहून छथि आयल !
धनि–धनि जागल भाग हे, मन कमल फुलायल !!
मंगलमय दिन ......  !!
मंगलघट सँ द्वारि सजाओल,
कंचन दीया बारि हम लाओल ,
गांथल हार गुलाब हे, हिनका पहिराओल !
मंगलमय दिन .........!!

त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको हुन सक्ने संस्कृतिविद डा. रेवतीरमण लाल बताउँछन् । यो विषयमा वाल्मिकी रामायणमा समेत उल्लेख रहेको पाइन्छ ।

राम लक्ष्मणको स्वागतमा कृत्रिम बजार
नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए । राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो ।

राम लक्ष्मण स्वयं जनकपुरधामको नगरदर्शन गर्दा पूरै मिथिलाको वातावरण अदभूत बनेको थियो जानकी मन्दिरका उत्तरराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगरदर्शन विधि गरिएको उनले बताए ।

जुन समयमा भगवान राम र लक्ष्मण नगरदर्शन गरेका थिए सो समयको वर्णन गर्दै तुलसीकृत रामायणमा लेखिएको छ ।

पीत बसन परिकर कटि भाथा ।
चारु चाप सर सोहत हाथा ।।
तन अनुहरत सुचंदन खोरी ।
स्यामल गौर मनोहर जोरी ।।

अर्थात दूबै भाई पहेलो वस्त्रमा छन्, कम्मरमा पहले वस्त्रले तरकस बाँधिएको छ । हातमा सुन्दर धनुष बाण सुशोभित छ । श्याम र गौर वण शरीर अनुकूल आकर्षक चन्दन निधारमा लागेको छ । श्याम र गौर वर्णका दुबै बालकको जोडी अति नै प्रिय छ ।

नगरदर्शन विधिमा प्रदेश दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल रहेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर