• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दमकमा डेंगु र भाइरलको प्रकोप कायमै

झापा । झापाको दमकमा डेंगु र भाइरलको प्रकोप कायमै रहेको पाइएको छ । चिसो बढ्दै गएपछि केही कम भए पनि डेंगु रोग नियण्त्रणमा आइनसकेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो साता मात्र यहाँका अस्पतालको रेकर्डअनुसार १२ जनामा डेंगु देखिएको छ भने निजी क्लिनिकहरूमा जाँच भएको भए त्यसको तथ्यांक नगरपालिकासँग नरहेको बताइएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका बद्री बरालका अनुसार साउन महिनायता अस्पतालमा आएर डेंगु भएको भनिएका बिरामीको संख्या ३ सय १० नाघेको छ । ‘यो हाम्रो नगरपालिकामा स्वास्थ्य शाखामा आएको आधिकारिक संख्या हो,’ उनले भने ।

ज्वरो, रुघालगायतका चिसो सुरु भएपछि लाग्ने सिजनेबल रोगको प्रकोप पनि रहेकाले यसलाई डेंगु हो कि भनेर त्रसित हुने पनि गरेको पाइएकाले भ्रममा नपर्न र नजिकको स्वास्थ्य संस्थामा आएर जाँच गराउन उनले आग्रह गरे । ‘सरकारी तथा निजी अस्पतालहरूमा जाँच गराएर प्रमाणित भएको अवस्थामा मात्र हामी डेंगु रोग भनेर भन्न सक्छौं,’ उनले भने ।

यसैबीच, इलाका प्रहरी कार्यालय दमकमा प्रहरी नायब उपरीक्षकसहित एक दर्जनभन्दा बढी प्रहरी बिरामी परेका छन् । डेंगु र भाइरलका कारण एकैसाथ धेरै प्रहरी बिरामी परेको आफूहरूलाई पनि सूचना आएको बरालले बताए । सबैलाई डेंगु रोग लागेको भनिए पनि त्यसको आधिकारिक पुष्टि नभएको उनले बताए ।

सरकारी जिल्ला अस्पतालको रूपमा रहेको दमक अस्पतालकी अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार अस्पतालमा निःशुल्क जाँच, परामर्श र उपचारको ब्यवस्था गरिएको छ । ‘डेंगु रोग लागेका विरामीका लागि निःशुल्क उपचारको ब्यवस्था मिलाएका छौं,’ उनले भनिन् । निजी अस्पतालहरूमा पनि सकेसम्म निःशुल्क र त्यो नभए पनि न्यूनतम् सेवा शुल्क लिन आग्रह गरिएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर