• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बसहियाः जहाँबाट जानकीको विवाह मण्डपका लागि बाँस काटिएको थियो 

जनकपुरधाम । मिथिलाञ्चलमा अहिले विवाहपञ्चमी महोत्सव धूमधामका साथ मनाइँदै छ । विवाहपञ्चमीमा पूरै मिथिलाञ्चलवासी झुमिरहेको समयमा माता जानकीको विवाहसँग सम्बन्धित अनेकौं ऐतिहासिक स्थलहरू अहिले ओझेलमा परेका छन् । तिनै स्थलहरूमध्ये एक हो बसहिया ।

स्थानीयका अनुसार माता सीता र भगवान् रामको त्रेतायुगमा विवाह हुँदा मण्डप निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको बसहियाबाट बाँस काटेर लगिएको थियो । यो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाउँ नै बसहिया ररहन गएको हुन सक्ने अवकाश प्राप्त  स्थानीय शिक्षक चन्देश्वरलाल कर्ण बताउँछन् ।

प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ । अहिले त्यहाँ प्राचीन समयको केही तथ्य नरहे पनि बसहियामा अत्यधिक संख्यामा बाँसको रूख भने पाइन्छ । 

भगवान् रामले शिरध्वज जनकले राखेको शिवजीको धनुष भाँचेपछि माता सीतासँग विवाह भएको थियो । भगवान् रामसँगै उनका तीन भाइको विवाहसमेत राजर्षि जनकका अन्य तीन छोरीसँग भएको थियो । चारवटै युगल जोडीका लागि विवाह मण्डप निर्माणका लागि अत्यधिक मात्रामा बाँस आवश्यक परेपछि यहीँबाट बाँस काटेर लगिएको हुन सक्ने र सोही कारणले कालान्तरमा यो गाउँको नाम बसहिया रहन गएको कर्ण बताउँछन् । उनले भगवान् राम–जानकीको विवाहको अवसरमा खुसियाली मनाइरहँदा सोही विवाहसँग जोडिएको स्थल बसहियाको ऐतिहासिकता उजागर हुन नसकेकोमा दुःख व्यक्त गरे ।

बसहिया गाउँमा अहिले पनि माता सीताको मटकोरपछि बनाइएको वेदीस्थल सुरक्षित रहेको स्थानीय विजयशंकर शर्मा बताउँछन् । झट्ट हेर्दा खुला चौरजस्तै देखिने सो स्थलमा वेदी बनाइएको हुन सक्ने आधार त प्रमाणित हुँदैन, तर त्यहाँ माटो खन्दा अहिले पनि रातो माटो निस्कने गरेको दाबी गर्नेहरुको कमी छैन । शर्माका अनुसार सो स्थल सिन्दुरले रंगिएकाले माटो नै रातो भएको जनश्रुति रहेको पाइन्छ । 

जनकपुरधाम उपमहानगरपालिकामै माता जानकीको विवाहसँग जोडिएको स्थल बसहिया रहे पनि पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्नका लागि कुनै निकायले गम्भीरता देखाउन नसकेको स्थानीयको आरोप छ । 
  
यस ठाउँमा सयौं वर्ष प्राचीन नरसिंह मन्दिर रहेको छ भने भगवान् राममाथि अनुसन्धान गरिरहेका भारतीय विद्वान् डा. रामावतारले आफ्नो ‘जहँ जहँ राम चरण चली जाहीँ’ नामक पुस्तकमा समेत बसहियाको चर्चा गरेको पाइन्छ । यो पुस्तकले भगवान् रामको चरण यो स्थलमा समेत परेको दाबी गरेको छ । डा. रामवतारको नेतृत्वमा रहेको शोधकर्ताहरूको टिमले भगवान् रामको चरण जहाँ जहाँ परेको थियो ती स्थलहरूको माटो संकलन गरेर बसहियास्थित नरसिंह मन्दिरमा  भगवान् रामको प्रतीक पदचिह्न राखिएको छ । 

बसहिया सेनवंशी राजासँग जोडिएको स्थलसमेत रहेको पाइन्छ । मकवानी सेनवंशी राजा माणिक सेन बसहियामा बास बस्दै आएका एक साधुको शक्तिले प्रभावित भएर ७ सय ५० बिघा जग्गा बिर्तामा प्रदान गरेको जनश्रुति पनि छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर