निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै संघीय सरकारका उपप्रधानदेखि प्रदेश सरकारका मुख्यमन्त्रीसम्म !

निर्वाचन आयोगको मौन समर्थन रहेको आरोप 

जनकपुरधाम । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा आ–आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउनका लागि मन्त्री नेता तथा कार्यकर्ता मत माग्नमा व्यस्त छन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको प्रचार प्रसारमा सबै दलका शिर्ष नेताहरु ओर्लिसकेका छन् । प्रचार प्रसारकै क्रममा केन्द्रका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरेको पाइएको छ । 

यसै क्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत प्रदेश दुईमा हुन लागेको विभिन्न जिल्लाको स्थानीय तहको निर्वाचन स्थलमै पुगेर आफ्नो उम्मेदवारको प्रचारप्रसार गर्दै आइरहेका छन् । उनी प्रदेश सरकारकै सेवा सुविधा प्रयोग गर्दै प्रचार प्रसार गर्दै आएको पाइएको छ । जुन आचारसंहिता उल्लंघन हो । 

प्रदेश दुईको पर्सा, रौतहट र महोत्तरी लगायतका निर्वाचन क्षेत्रमा मुख्यमन्त्री राउत स्वयं प्रदेश दुईको सवारी साधन लगायतका विभिन्न साधन स्रोतको परिचालन गर्दा पनि निर्वाचन आयोगले यसप्रति वास्ता नगर्नु दुःखद रहेको प्रतिपक्षी दलहरुको आरोप छ ।

त्यस्तै संघीय सरकारको उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले समेत कानूनको ख्याल नै नगरी बुधबार महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न पुगेका छन् ।

नेकपाका केन्द्रिय सदस्य रामकुमार शर्माले केहि दिन देखि मुख्यमन्त्री राउत लगायत प्रदेश दुईका मन्त्रीहरु निर्वाचन आचारसंहीता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले केहि नगरेको प्रति खेद प्रकट गरेका छन् । उनले निर्वाचन आयोग महोत्तरीमा लिखित उजुरी दिदाँ पनि कुनै वास्ता नगरेको भन्दै निर्वाचन आयोग मुकदर्शक बनेको आरोप लगाए । 

उनले प्रदेश दुई सरकारले सरकारी नम्बर प्लेट सहित सरकारी सेवा  सुविधाको व्यापक दुरुपयोग हुदाँ पनि निर्वाचन आयोगले मौन समर्थन गरेको आरोप लगाए । उनले प्रदेश दुईको सत्तारुढ दल राजपा नेपालबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका मन्त्रीहरु समेत शक्ति र सत्ताको व्यापक दुरुपयोग गरिरहेको आरोप लगाए ।

निर्वाचन आयोग महोत्तरीका प्रमुख पुष्पा झाले हामी कहाँ मौखिक उजुरी मात्रै आएकाले कारवाही प्रक्रिया अघि बढाउन कठिन भएको प्रतिक्रिया दिईन् । उनले हुन त कारवाही गर्नका लागि निर्वाचन आयोग मातहतका अन्य आयोग रहेको, तर लिखित उजुरी नआउँदा कारवाहीका लागि प्राविधिक समस्या भएको स्पष्ट पारिन् ।

तर, रामकुमार शर्माले भने आफुले निर्वाचन आयोगलाई प्रदेश दुईको विभिन्न मन्त्रीहरु निर्वाचनको प्रचारप्रसारमा मत मागेका विभिन्न फोटो, भिजुअल लगायतका सामग्रीहरु बुझाइ सकेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर