• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विद्या भट्टराईलाई मन्त्री बनाएरै छाड्छौं : वामदेव गौतम 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताएका छन् । 

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा नेकपा निर्वाचन परिचालन कमिटी कास्कीले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले सरकारले आवश्यक कानून तथा सङ्घीय व्यवस्था अनुसारका संरचना तयार गरिसकेकाले बाँकी अवधिमा निर्वाचनमा व्यक्त प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे ।

सरकार समग्र देशको मुहार फेर्ने गरी विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नेता गौतमले पोखरालाई संसारको उत्कृष्ट गन्तव्य स्थलका रुपमा विकास गरी विश्वका मानिसलाई एक पटक पुग्नै पर्ने ठाउँका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने स्पष्ट पारे । पार्टीले उठाएको उम्मेदवार विद्या भट्टराईमा मन्त्री बनेर विकास गर्न सक्ने क्षमता रहेको चर्चा गर्दै नेता गौतमले भने, “उपनिर्वाचनमा विजयी गराएर पठाउनुहोस् बाँकी अवधिमा मन्त्री बनाएरै छाड्छौँ । विद्या त्यसका लागि अग्रपङ्क्तिमा हुनु हुनेछ ।” 

सो अवसरमा पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पोखराका नौवटा ताललाई जोडेर पर्यटनको केन्द्रका रुपमा विकास गर्ने स्व रवीन्द्र अधिकारीको सपनालाई पूरा गराउन भट्टराईलाई उम्मेदवार बनाइएको स्पष्ट पारे ।

उम्मेदवार विद्या भट्टराईले रवीन्द्रको समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प र पार्टीको सुखी नेपालीको अभियानलाई पूरा गर्ने अभिभारासहित निर्वाचनमा आएको बताउँदै देशको विकास र राष्ट्रिय स्वाधीनताको रक्षाको अभियन्ता बन्ने बताए । पोखरा विमानस्थल समयमै निर्माण सम्पन्न गरेर पोखरालाई विश्वका अन्य शहरसँग जोड्नका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ । 

नेकपा केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङले उपनिर्वाचनलाई ‘मिनी जनमत सङ्ग्रह’का रुपमा लिइएको चर्चा गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा चुनावी प्रतिबद्धता पूरा गरिने भनाइ राखे । सभामा पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङलगायतले उम्मेदवार भट्टराईमा क्षमता र योग्यता दुवै भएकाले जीत सुनिश्चित भएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर