• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

भक्तपुर उप–निर्वाचन : नेकपा उम्मेदवार डीपी ढकालकाे पराजयका पाँच कारण

भक्तपुर । शनिबार भएको उप–निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांगेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भए । नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गर्दै भँडेल प्रदेशसभा सांसद भएका छन् । 

भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । दुई उम्मेद्वारको मतको भिन्नता करिव २२ सयको रहेको छ । 

अर्थपूर्ण रुपमा हेरिएको चुनाव क्षेत्र मध्येको एक हो, भक्तपुर । यसअघि नेकपाले सिवजयी हासिल गरेको यस क्षेत्रमा भएको कांग्रेसको जितले नेकपाका कार्यकर्ताहरु एक आपसमा आरोप प्रत्यारोप गर्न थालिसके । उम्मेदवारको टिकट वितरण भएदेखि नै पार्टीभित्रैबाट विरोध प्रदर्शनदेखि तालाबन्दी सम्मको पीडा खेप्नुपरेको नेकपा भक्तपुरले केही सोच्ने बेला आएको छ ।  

सो क्षेत्रमा यसअघिको निर्वाचनमा काग्रेसले ९ हजार ७७७ मत ल्याएको थियो, अहिलको निर्वाचनमा कांग्रेसले ३६७२ मत सुधार गर्न समेत सफल भयो । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएका थिए । सो क्षेत्रमा नेकपाभित्रकै बिवाद, राप्रपा र काग्रेसको चूनावी तालमेल लगाएतका कारणले नै ढकालको पराजय भएको हुन सक्ने आंकलन गरिएको छ । 

कांग्रेस र राप्रपा संयुक्तको चूनावी तालमेल
भक्तपुर क्षेत्र नम्बर १ (क) मा राप्रपा संयुक्तको करिव तीनहजार मत खस्ने अनुमान यसअघि गरिएको थियो । उसले पार्टीको भक्तपुर अध्यक्ष रामशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको थियो तर लामिछाने अघिल्लो प्रदेश निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा रहेकाले उनको उम्मेदवारी रद्द गरिएको थियो । त्यसपछि राप्रपा संयुक्तले कांग्रेसलाई सहयोग गर्ने निर्णय गर्यो । अहिलेको निर्वाचन परिणाम हेर्दा राप्रपा संयुक्तको भोट पनि कांग्रेसलाई गएको देखिन्छ ।
बिशेषगरि सो क्षेत्रको नगरकोट क्षेत्रमा राप्रपा संयुक्तको पक्षमा राम्रो जनमत भएको देखिएको थियो । तर नेकपाले दुई पार्टीको चूनावी तालमेललाई कुनै ध्यान नदिइएको देखिन्छ । राप्रपाका संयुक्तको पक्षमा जाने करिव तीन हजार भोटलाई आफुतिर तान्ने कुनै रणनीति नेकपाले बनाउन सकेन जसका कारण दुई पार्टीको तालमेल सफल भएको देखिन्छ । 

काँग्रेसलाई साना दलको पनि साथ
राप्रपा संयुक्तले औपचारिक रुपमा नै काग्रेसलाई सहयोग गर्ने घोषणा गरिरहदा कमल थापा नेतृत्वको राप्रपाले पनि नेकपालाई सहयोग गर्ने जनाएको थियो । त्यस्तै नेमकिपाको केहि मत पनि कांग्रेस उम्मेदवारलाई गएको देखिन्छ । यसअघिको निर्वाचनमा नेमकिपाले सात हजार १९ मत पाएको थियो, तर अहिलेको निर्वाचनमा नेमकिपाले ५ हजार ८२९ मत मात्र पाएको छ । दुई निर्वाचनको मतान्तर करिव दुई हजारको छ । आंकडा हेर्दा अन्य दलहरु पनि सो क्षेत्रमा रहेको नेकपाको किल्ला भत्काउन एक भएको देखिन्छ । 

नेकपाभित्रको एकताको सबै काम पूरा नहुनु
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको लामो समय हुँदा पनि तल्लो तहसम्मको एकताको काम पुरा हुन सकेको छैन । संस्थागत रुपमा नै अन्य सबै तहको एकता हुनु तर तल्लो तहमा एकता नहुनले पनि निर्वाचन परिणाममा असर पुगेको हुन सक्ने एकथरीको बुझाई छ ।
त्यस्तै निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउँदा देखिएको विवादले पनि स्थानीय मतदातामाझ गलत संन्देश गएकाले पनि नेकपाको भोट घटेको हुनसक्ने स्थानीय नेताहरुको बुझाई छ । नेकपाले आन्तरिक एकता कायम गर्न नसकेकैले  सो क्षेत्र गुमाउन पुगेको चर्चा हुन थालेको  छ ।

नेकपाको प्रचारप्रसारमा कमी
उपनिर्वाचनको प्रचारप्रसार तिव्र ढंगले हुँदा त्यसको प्रभाव भने भक्तपुरमा केहि कमदेखिएको मतदाताहरुको बुझाई छ । सो क्षेत्रमा नेकपाका तर्फबाट नेकपा नेता माधव नेपाल, बामदेव गौतम सहभागी भएपनि शिर्ष तहबाट भनै कुनै नेताहरुको उपस्थीति रहेन । प्रचारप्रसारको अन्तिम दिनको चूनावी घोषणासभामा नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेभनिएतापनि अध्यक्ष प्रचण्ड सहभागी भएनन् । सो क्षेत्रको प्रचारप्रसारमा केन्द्रबाट हस्तक्षेप नहुनुले पनि नेकपाको मत घटेको अनुमान लगाइएको छ । 

अन्तरघातको आशंका 
नेकपा सचिवालय बैठकले सो क्षेत्रमा उम्मेद्वारी घोषणा गरेपछि पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिएको थियो । लगतै सो घटनालाई मत्थर पार्ने प्रयास गरेपनि केहि आकांक्षीको मनमा भने असन्तुष्टि देखिएको थियो । त्यहि असन्तुष्टि कारण नै केहिले अहिलको निर्वाचनमा अन्तरघात गरेको हुन सक्ने केहि पूर्वमाओवादी नेताहरुको ठम्माई छ । 

उत्तरपूर्वी भक्तपुरको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा समेटिएको प्रदेशसभामा नेकपाले जित्ने प्रयाप्त आधारहरु थिए । तर फितलो तयारी र आन्तरिक रणनीतिको कमिले नेकपाले सो क्षेत्र गुमाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर