सुन्दर यातायातले प्रदेश पाचमा विद्युतिय बस सञ्चालन गर्ने

रुपन्देहीमा एक अर्बको परियोजना

बुटवल । सुन्दर यातयात प्रालिले प्रदेश ५ मा विद्युतिय सवारी सञ्चालनमा ल्याउने भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा छिट्टै बस सञ्चालनको तयारी थालेको सुन्दर यातायातले पहिलो शाखाको रुपमा बुटवलमा कार्यालय पनि स्थापना गरेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाका अनुसार हाल काठमाण्डौंमा सञ्चालित विद्युतिय बसलाई देशैभरी सञ्चालन गर्ने नीति अनुरुप प्रदेश ५ मा बुटवललगायतका शहरमा सञ्चालनको प्रक्रिया शुरु भएको छ । 

कम्पनीले विद्युतिय बस तथा कारको सञ्चालन, विक्रि वितरण र एसेम्वल गर्नेसमेत उद्देश्य राखेको उनले बताए । प्रालिका अध्यक्ष थापाले समयको माग अनुरुप प्रदेशमा पनि सुविधा सम्पन्न सार्वजनिक सवारी साधन संचालन गर्न लागिएको बताए । उनले आफ्नै देशमा उत्पादन भएको विजुलीबाट गाडीहरु संचालन गर्नु सुखद् पक्ष रहेको बताए । उनले दर्ता प्रकृयाकालगाएतका काममा प्रदेश सरकारले सघाउनु पर्नेमा जोड दिए ।

चीनको सिचुवान गुहाङ्ग अटोमोवाइल्स, बीएके कम्पनी र प्रालिको संयुक्त लगानीमा विद्युतीय बस, ट्याक्सीको एसेम्वल र निमार्ण गर्ने लक्ष्य राखेको सञ्चालक डीआर घिमिरेले बताए । कम्पनीले आगामी ६ महिना भित्र रुपन्देहीको प्रस्तावित औद्योगिक क्षेत्रमा यसको प्रक्रिया अगाडी बढाउने जनाएको छ । यस परियोजना १ अर्बको हुने घिमिरेले बताए । उनले वातावरणमैत्री सार्वजनिक सेवा संचालन हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए । उनले प्रालि कसैको प्रतिद्धन्द्धीका रुपमा स्थापना नभएको बताएका थिए ।

नेपालमा उत्पादन हुने यस्ता सवारी साधनको अधिकत्तम प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउने साथै स्वदेशमा उत्पादन हुने विद्युतको खपतमा सहयोग पुग्ने विशवास सञ्चालकहरुले लिएका छन । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यातायातको तुलनामा विद्युतिय वसको भाडा दर पनि कम हुने बताइएको छ । 

प्रालिले बुटवलपछि बिराटनगरमा पनि बस सञ्चालनको तयारी थालेको छ । अर्को साता त्यहा कार्यालय स्थापना गर्ने भएको छ । 

आइतवार बुटवलको तीनकुनेमा एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गर्दै प्रदेश पाचका सामाजिक विकास मन्त्री सुर्दशन वरालले विद्युतीय उर्जा खपतको विकल्प सरकारले खोजीरहेका बेला यस्ता कम्पनीहरु संचालनमा आउनु सकारात्मक पक्ष भएको बताए । उनले वातावरण मैत्री सवारी साधनहरुको विकासको विकल्प नरहेको भन्दै उनले नविकरणीय उर्जाको स्रोत उपयोगमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रालिका प्रदेश ५ संयोजक उमलाल बन्जाडे, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले यातायात क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर