• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीले गरे उद्घाटन

मस्को । रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास  पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।  

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास  पाइपलाइनको उद्घाटन गरेका छन् । 

दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ ।

‘आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको उर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महत्वपूर्ण कदम भएको छ,’ पुटिनले भने ।  

चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा अथ्र्याएका छन् । यसले दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा दिइएको जानकारी अनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ ।

सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ । यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिएका छन् ।
 
सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति बर्ष ३८ अर्ब क्युविक मिटर ग्यास  निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन् ।

यो निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीस बर्षे यो ४०० अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो ।

पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ । 

पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदुर पूर्वी अमुर क्षेत्रमा माईनस ४० डिग्री सेल्सीयस तापक्रम हुने गरेको अधिकारीहरूले जनाएका छन् । एएफपी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर