• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेकपा सचिवालय : यी हुन् ८ निर्णय

२९ र ३० मंसिरमा स्थायी समिति बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी समितिको बैठक आह्वान गरेको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले २९ र ३० मंसिरमा काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै सदस्यहरूको उपस्थिति थियाे । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले बैठकमा अनुपस्थित भएका हुन् । 

नेकपाको स्थायी समितिको बैठक गत वर्षको पुसदेखि बसेको थिएन । स्थायी समिति बैठक बस्नुअघि २७ गते पुनः सचिवालय बैठक बस्ने सचिवालयका एक सदस्यले बताए । 

यी हुन् नेकपाले गरेका निर्णयहरू ः 

– यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने ।

– हालै सम्पन्न उपनिर्वाचन समीक्षाका क्रममा २२ गतेभित्र रिपोर्ट पठाउन भनिएकोमा केही कमिटीबाट रिपोर्ट अझै पनि प्राप्त नभएकाले ५ दिनभित्र सबै कमिटीले अनिवार्यरूपमा रिपोर्ट पठाउनुपर्ने र सचिवालयको अर्को बैठकमा महासचिवले ती रिपोर्टहरू पेश गर्ने ।

– संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ । यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने ।

– विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने ।

– केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने ।

– पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने ।

– पार्टी सचिवालयको आगामी बैठक यही मंसिर २७ गते अपराह्न बस्ने ।

– पार्टीको स्थायी कमिटी बैठक यही मंसिर २९ गते बिहान ११ बजेबाट शुरू हुनेगरी तय गरिएको छ । उक्त बैठक सामान्यतया २ दिनमा सम्पन्न गर्ने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर