• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उपसभामुखलाई राजीनामा दिन दबाब, तुम्बाहाम्फे भन्छिन्, ‘सभामुख नहुने भए राजीनामा दिन्न’

जेष्ठ सांसद महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने

काठमाडौं । मन्त्रिपरिषद्ले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेसँगै नयाँ सभामुख को हुने भन्ने चर्चा सुरु भएको छ । संसद्मा सभामुख पद रिक्त भएको अवस्थामा यसपटक हिउँदे अधिवेशनको सुरुमै नयाँ सभामुख चयन गर्नुपर्ने अवस्था छ । 

सभामुख चयनका विषयमा भने नेकपा अप्ठ्यारोमा परेको छ । नेकपाले सभामुख आफैं राख्ने लगभग पक्का छ । तर, अहिले उपसभामुखमा पनि नेकपाकै साँसद शिवमाया तुम्बाहाम्फे छिन् । संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुख र उपसभामुख एउटै पद मात्र लिन सक्नेछ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । नेकपाका शीर्ष नेताहरूले राजीनामा दिन तुम्बाहाम्फेलाई सुझाव दिए पनि उनले भने मानेकी छैनन् । 

राजीनामाका लागि उपसभामुख तुम्बाहाम्फेको सर्त

सभामुख पद रिक्त भएदेखि नै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर नयाँ सभामुखमा नेकपाकै अन्य नेतालाई पठाउने कसरत नेकपाभित्र भइरहेको छ । तर, तुम्बाहाम्फेले भने सहजै राजीनामा दिने मनस्थिति बनाएकी छैनन् । उनले आफूलाई सभामुख बनाउने भए मात्र उपसभामुख पदबाट राजीनामा दिने अडान लिँदै आएकी छिन् । 

उपसभामुख तुम्बाहाम्फेले सभामुखमा आफूलाई निर्णय गरेपछि मात्र राजीनामा दिने मनस्थितिमा छन् । संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारी राजीनामा दिने विषयमा उपसभामुख छलफलमा रहेको बताउँछन् । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘सभामुख निर्वाचनका लागि संवैधानिक निकास निकाल्न उपसभामुख सकारात्मक हुनुहुन्छ, त्यसका लागि उहाँले उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुहुन्छ ।’ तुम्बाहाम्फेले संविधानबारे आफू पनि जानकार रहेको बताउँदै आफू सभामुखको पहिलो हकदार रहेको बताउँदै आएकी छिन् । 

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका लागि समय मागिरहेकी छन् । प्रचण्डसँगको सल्लाहा अनुसार उनले निर्णय गर्ने तुम्बाहाम्फे निकट श्रोतले बतायो ।

सदनको पहिलो बैठक बस्न सभामुख अनिवार्य

हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन सिफारिस भएसँगै संसद्को पहिलो बैठक बस्नका लागि संवैधानिक कठिनाइ देखिने कानुनका ज्ञातासमेत रहेका नेकपाका एक उच्च नेता बताउँछन् । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘सदनको पहिलो बैठकको सञ्चालन सभामुखले गर्नुपर्ने हुन्छ, तर अहिले सभामुखको पद खालि रहेकाले तत्काल सभामुखको निर्वाचन गर्नुपर्ने देखिन्छ, त्यसका लागि पनि संसद् बस्नुपर्ने हुन्छ, सभामुख पद रिक्त रहेका बेला संसद्भित्र रहेको ज्येष्ठ सदस्यले संसद् सञ्चालन गर्ने प्रावधान छ ।’

अहिले संसदभित्र ज्येष्ठ राजपाका अध्यक्षमण्डलका नेता सदस्य महन्थ ठाकुर छन् । कतिपय विज्ञहरुले उससभामुखले राजीनामा नदिएपनि सभामुखले बैठक संचालन गर्ने अधिकार उपसभामुखमा नसर्ने र त्यस्तो अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने तर्क अघि सारेका छन् । 
 

कानुनका विज्ञ तथा नेकपा नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको अवस्थामा उपसभामुखले राजीनामा दिए सदन सञ्चालनको प्रक्रिया सहज हुने बताए । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘उपसभामुखले राजीनामा दिए बैठक सञ्चालनका लागि सहज हुन्छ, तर त्यसो हुन नसके पनि ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्न कुनै कानुनी बाधा रहँदैन ।’

प्रतिनिधिसभा कार्यसंचालन नियमावलीमा समेत उपसभामुखले संसदको बैठक उपसभामुखले सुरु र अन्त्य गर्न नपाउने कुरा उल्लेख गरिएको छ । नियमावलीको परिच्छेद २ को नियम ६ को उपनियम ४ मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्ने छन्’ भन्ने उल्लेख छ ।

 

त्यस्तै संविधानको धारा ९१ को उपधारा ५ मा यस्तो व्यवस्था छ, प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।

संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुपरेको थियो । सभामुख पद रिक्त भएपछि अब कसलाई सभामुख बनाउने भन्ने बारेमा नेकपा आन्तरिक छलफलमा व्यस्त छ । तत्कालीन समयमा सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित भएका थिए । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित भएकी थिइन् । तर, एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भने कांग्रेसले एकै दलबाट दुवै पदमा रहनु संविधानविपरीत हुने भन्दै विरोध गर्दै आएको थियो । 

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ । महराले राजीनामा दिएपछि भने सभामुख र उपसभामुख अब फरक फरक दलको राख्नै पर्ने बाध्यता उत्पन्न भएको छ । उपसभामुखमा तुम्बाहाम्फेलाई नै यथावतमा राख्ने हो भने सभामुख पद नेकपाले गुमाउनुपर्नेछ । तर, नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख पद गुमाउन चाहेको छैन । 

यसअघि तुम्बाहाम्फेलाई मन्त्री बनाउने प्रस्ताव नेकपाले गरेपनि उनले अस्वीकार गरेकी थिइन् । सभामुख निर्वाचनको मिति नजिकिँदै गर्दा अब तुम्बाहाम्फेलाई फरक जिम्मेवारी दिएर अन्य कुनै नेतालाई सभामुख बनाउने वा अहिलेको उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुखमा प्रस्ताव गर्ने दुई विकल्प नेकपासामु विद्यमान छ । 

सभामुख चयनका लागि संविधानमा यस्तो व्यवस्था

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखबारे यस्तो व्यवस्था छः

प्रतिनिधिसभाको सभामुख र उपसभामुखः (१) प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नेछन् ।

(४) प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ ।

(५) प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर