खाद्य संस्थानले हजार मेट्रिक टन धान खरिद गर्ने, बेच्ने किसान नै सम्पर्कमा आएनन्

विराटनगर । नेपाल खाद्य संस्थानको विराटनगरस्थित कार्यालयले यो वर्ष धान खरिद गरेको छैन । किसानहरुले धान बेच्न नल्याएका कारण संस्थानले खरिद नगरेको हो । सरकारले निर्धारण गरेको सम्वन्धन मूल्यमा खरिद गर्न तयार भएपनि मङ्सिर महिना सकिन लाग्दासमेत किसानहरुले बिक्रीकालागि धान नल्याएपछि संस्थान के गर्ने भन्ने अन्यौलमा परेको छ । 

खाद्य संस्थानको विराटनगरस्थित अञ्चल कार्यालयलाई यो सिजनमा एक हजार मेट्रिक टन धान खरिद गर्ने जिम्मेवारी छ । धान उत्पादनको मध्य सिजन भइसक्दा पनि किसानहरु धान बेच्न संस्थानको सम्पर्कमा पुगेका छैनन् । ‘अहिलेसम्म एकै जना किसान धान बेच्नु छ भनेर हामीसँग सम्पर्कमा आउनुभएको छैन,’ विराटनगर स्थित कार्यालयका लेखा प्रमुख हरिप्रसाद भण्डारीले भने ‘हामीले स्थानीय सरकार मार्फत धान बिक्रीकालागि किसानहरुलाई सूचना पठाएका छौं ।’ 

संस्थानले वास्तविक किसानसँग धान खरिद गर्ने भन्दै सुनसरी र मोरङका सबै स्थानीय तहमा त्यसको जानकारी पठाएको छ । संस्थानको विराटनगर स्थित कार्यालयले सोना मन्सुली जातको धान किसानबाट खरिद गर्ने जनाएको छ । संस्थानले चामल आपुर्ती गर्ने पहाडी र हिमाली जिल्लाहरुमा मध्यम स्तरको मानिने सोना मन्सुलीकै माग छ । त्यस्तै खाद्य संस्थानको विराटनगर स्थित कार्यालयले मोरङ कारागार, सुनसरी कारागार, धनकुटा कारागार र तेह्रथुम कारागारमा चामल आपुर्ति गर्दै आएको छ । चारै जिल्ला कारागारसँग सोना मन्सुली चामल दिने सम्झौता रहेकोले उसले सोना धानमात्र खरिद गर्ने जनाएको छ । 

संस्थानले स्थानीय तह मार्फत धान खरिद गर्ने सूचना किसानहरुलाई पठाएपनि किसानहरु भने संस्थानको सम्पर्कमा आएका छैनन् । संस्थानले एक विघा खेति गर्ने किसानसँग एक सय मन अर्थात चार हजार किलोग्रामका दरले धान खरिद गर्ने सीमा निर्धारण गरेको छ । किसानको नाममा बिचौलीयाले फाइदा नलिउन् भनेर संस्थानले खरिद सीमा निर्धारण गरेको हो । 

किसानमार्फत खरिद गर्ने भनेपनि झापा, मोरङ र सिराहमा मंगलबारसम्म संस्थानले एक किलोग्राम पनि धान खरिद गरेको छैन । पछिल्लो समय किसानहरुले सोना मन्सुली धानको खेति गर्न छोडेका छन् । किसानले धेरै फल्ने जातको खोजी गर्दै अन्य जातको धान उत्पादनमा लागेका कारण सोना मन्सुलीको उत्पादन घटेको छ । जसले गर्दा संस्थानको आवश्यकता अनुसार बिक्रीकालागि सोना धान नल्याएको अनुमान गरिएको छ । त्यस बाहेक किसानको पहुँचमा संस्थानको खरिद केन्द्र पनि छैन । खरिद केन्द्र नहुँदा किसानहरु नजिकको व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्न वाध्य छन् । संस्थानले सोना मन्सुली धान प्रतिकिलो २६ रुपियाँ ७३ पैसाको दरले खरिद गरिरहेको छ । किसानले टाढाबाट बिक्रीकालागि ल्याउँदा ढुवानी खर्च महंगो पर्ने भएकोले पनि संस्थानलाई उनीहरुले धान बिक्री गर्ने इच्छा नदेखाएका हुन् । 

मङ्सिर १६ गते मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले उत्पादक किसानसँग प्रत्यक्ष खरिद गर्ने निर्णय गरेको थियो । बिचौलीयाहरुले अनुचित फाइदा नउिन्  भनेर स्थानीय तहको कृषि शाखा र जिल्ला कृषि ज्ञान केन्द्रको सिफारिसमा मात्र धान खरिद गर्ने निर्णय भएको थियो । धान बिक्री गर्न नागरिकता र लालपुर्जासहित स्थानीय सरकार र जिल्ला कृषि ज्ञान केन्द्रको सिफारिस लिनुपर्ने झण्झटिलो प्रावधानले गर्दा किसानहरु संस्थानसम्म आउन सकिरहेका छैनन् । त्यति मात्र होइन किसानले बिक्री गर्न ल्याएको धान गुणस्तरीय र १८ प्रतिशत भन्दा कम चिस्यान हुनुपर्ने प्रावधान छ । बिक्रीकालागि ल्याएको धानको मापदण्ड नपुगेमा फिर्ता लैजानु पर्ने भएकोले पनि किसानहरु संस्थानमा बिक्री गर्न इच्छुक हुँदैनन् । यद्यपी माघ महिनासम्म किसानहरुले धान बिक्री गर्ने भएकोले आवश्यक धान खरिद हुने अपेक्षा संस्थानले गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर