प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा महानगरपालिकाले विभिन्न वार्डहरुमा सोलार बत्ति जडान गर्न झण्डै डेढ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । 

बिद्युतको उत्पादन प्रयाप्त हुँदै गएको र आगामी दिनमा लोडसेडिङको सम्भावना नरहेको भन्दै विराटनगर महानगरपालिकाले सौर्य बत्तिमा बजेट खर्च नगर्ने निर्णय गरेको हो । महानगरले सोलारकालागि विनियोजन गरेको बजेट अन्य योजनामा खर्च गर्ने जनाएको छ । 

सौर्य बत्तिका लागि विभिन्न वार्डहरुले नगरसभाबाट योजना पारित गरेर बजेट विनियोजन गरेका थिए । महानगरपालिका ९ नम्बर वार्डका अध्यक्ष विश्वनाथ भगतले एक करोड १ लाख ५० हजार रुपियाँ सौर्य बत्ति तथा सहर सौन्दर्यताकालागि भनेर विनियोजन गर्नुभएको थियो ।  तर योजना अघि बढाउने तयारी भइरहेको बेला कार्यपालिका बैठकले सौर्य उर्जामा लागानी नगर्ने निर्णय गरेको हो । वार्ड अध्यक्ष भगतले सोलारमा खर्च नगर्ने निर्णय भएपछि आफुले नगर सौन्दर्यकरणमा खर्च गर्ने योजना बनाइरहेको जानकारी दिए । ‘सौर्य बत्तिमा लगानी नगरौं भन्ने निर्णय भएको छ,’ भगतले भने ‘अब चुलाचुली मार्ग, ठाकुरबाडी मार्ग, मेनरोड, हिमालय मार्ग र कलेज रोडको सौन्दर्यकरणकालागि खर्च गर्ने सोचका साथ अध्ययन गरिरहेका छौं ।’

अघिल्लो साता बसेको नगर परिषद्को बैठकले सौर्य बत्ति जडानमा बजेट खर्च नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिएका छन् । उनले बिजुली प्रयाप्त भएको अवस्थामा सोलारमा खर्च गर्नु उपयुक्त नहुने भएकोले यो वर्ष खर्च नगरौं भन्ने भएको छ ।  

विराटनगर महानगरपालिका वार्ड नम्बर १० ले पनि सौर्य बत्तिकालागि भन्दै २५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । वार्ड नम्बर १३ र ५ ले दश÷दश लाख रुपियाँका दरले सौर्य उर्जामा बजेट विनियोजन गरेको थियो । सबै वार्डहरुले अब सौर्य उर्जाकालागि विनियोजन गरेको बजेट अब विद्युतिकरण लगायत अन्य योजनामा खर्च गर्नुपर्ने छ । आगामी पुस महिनामा बजेट संशोधन मार्फत योजना परिवर्तन हुने सम्वन्धित वार्ड अध्यक्षहरुले जानकारी दिएका छन् । 

विराटनगर महानगरपालिकाले पुष्पलाल चोक पानीटंकी सडक खण्डमा जडान गरेको सौर्य बत्ति प्रभावकारी नभएको गुनासो सर्वसाधारणबाट बढी आइरहेको छ । धुलोले सोलार प्यानल छोपिदाँ राम्ररी बत्ति नबल्ने समस्या छ । पछिल्लो समय जलविद्युत खपत बढाउनु पर्ने अवस्था आएको सन्दर्भमा सौर्य उर्जामा लगानी गर्न नहुने निष्कर्शमा महानगरपालिका पुगेको पूर्वाधार विकास समितिका संयोजक तथा वार्ड नम्बर ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले बताए । उनले सोलारमा आर्थिक अनियमितता हुने गुनासो बढी आउने भएकोले पनि महानगरले त्यसमा लगानी गर्न नचाहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर