• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नयाँ सभामुखमा चार नेताका चार छनोट

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंसिर २४ गते अपरान्ह उनले संसदको बैठक बोलाएसंगै नयाँ सभामुख को ? भन्ने प्रश्नको उत्तर सर्वाधिक खोजीको विषय बनेको छ । संसदबाट चुनिने प्रकृयागत विषय भएपनि सत्तारुढ दल नेकपाले छनोट गरेको व्यक्ती नै सभामुख हुने पक्का छ । तर, नेकपा भित्रैबाट चाँही को सभामुख हो भन्ने प्रश्नको उत्तर सजिलो छैन । अथवा शीर्ष नेताका प्राथामिकता र आकाँक्षीका रुची फरक–फरक छन् । 

पुस ४ गतेको संसद बैठक जेष्ठ सदस्यका आधारमा प्रतिनिधिसभाका सांसद राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुको अध्यक्षतामा बस्ने लगभग पक्का छ । 

तर, त्यसअघि सभामुख चयन तथा संसद संचालनको कामलाई सहज बनाउन नेकपाले आफ्ना उपसभामुख शिवमायाँ तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिईसकेको छ । उनी भने आफू सभामुख बन्नुपर्ने सर्त अघि सारिरहेकी छन् । उनी मात्र हैन नेकपाका पूर्व माओवादी तथा एमाले खेमाका अरु ३ जना पनि सभामुखको प्रतिस्पर्धामा लागिरहेका छन् । 

नयाँ सभामुखका लागि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र गृहमन्त्री रामबहादुर थापाका समेत रुचीका पात्रहरु सतहमा आएका छन् । 

पहिलो संभावना : प्रचण्डको प्राथामिकता 
नेकपा एकिकरणताका पदहरुको विभाजन गर्दा शक्ति सन्तुलनका आधारमा तत्कालिन एमालेले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष पद लिएको थियो भने माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख । 

आफ्नो पार्टीका सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोपमा राजिनामा दिएपछि सभामुखका लागि प्रचण्डले कुन पात्र अघि सार्छन भन्ने कुरा सवैभन्दा निर्णायक र महत्वपूर्ण मानिएको छ । खुमलटार स्रोतका अनुसार सभामुखमा प्रचण्डका दुई प्राथामिकता छन् । जसमा प्रधानमन्त्री ओलीसँग समेत अनौपचारिक छलफल भईसकेको छ । 

प्रचण्डले सभामुखमा नयाँ अनुहारलाई अघि सारेका छन् । जसमा पहिलो नम्बरमा नेता अग्नीप्रसाद सापकोटाको नाम छ । जनयुद्धकाल भन्दा अघिदेखि अहिले सम्म निरन्तर पार्टीको मूलधारमा उभिएर प्रचण्डलाई साथ दिएका सिन्धुपाल्चोकका नेता हुन् सापकोटा । प्रचण्डका विस्वास पत्र मध्यका एक उनी विगतमा सूचना तथा संचार र बन तथा वातावरण मन्त्री बनिसकेका छन् । बौद्धिक व्यक्तित्वको छवी भएका सापकोटालाई सभामुख बनाउने पक्षमा अध्यक्ष प्रचण्ड देखिएको खुमलटार स्रोत बताउँछ । 

सापकोटालाई संभव नभएमा र प्रधानमन्त्रीले अनुभवी व्यक्ति खोजेमा प्रचण्डले संविधानसभाको उपाध्यक्ष, उपसभामुख हुंदै सभामुख बनेर सफलतापूर्वक कार्यसम्पादन गरेकी, जनयुद्धकालिन महिला छापामार हुंदै समकालिन राजनीतिको महिला नेतृत्वमा छाप छोडेकी रोल्पाली नेतृ ओनसरी घर्ती अघि सारेका छन् । 

दोस्राे संभावना : विद्या भण्डारीको प्राथामिकता
सतहमा नदेखिएपनि राष्ट्रसित विद्यादेवी भण्डारी नेकपा भित्रको राजनीतिको एउटा निर्णायक खेलाडी हन् । जसको अभ्यास उनले राज्यका हरेक महत्वपूर्ण निकायमा नियुक्ती तथा नेकपाको एकता प्रकृयामा समेत भूमिका खेल्दै आएकी छन् । 

शिवमायाँ तुम्बाहाम्फे लाई तत्कालिन अवस्थामा पनि राष्ट्रपति भण्डारीकै सिफारिसमा उपसभामुख बनाईएको थियो । सभामुख महराले राजीनामा दिएपनि सभामुखका लागि आफू स्वभाविक दावेदार रहेको उनको भनाई छ । तुम्बाहाम्फेले यसबीचमा राष्ट्रपति भण्डारीसंग पटक–पटक भेटवार्ता समेत गरेको संसद सचिवालय स्रोत बताउँछ । परिणाम स्वरुप अहिले राष्ट्रपति भण्डारीले उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउन पहल गरिरहेकी छन् । 

तेस्रो संभावना : प्रधानमन्त्रीको प्राथामिकता
राज्यको छुट्टै निकाय हो व्यवस्थापिका । तरपनि यसका पदाधिकारी नियुक्तीमा सत्ताको छायाँ स्वभाविक रुपमा हुन्छ । संसदबाट बहुमतका आधारमा निर्वाचित हुनुपर्ने भएकाले सत्तारुढ दलले चाहेकै व्यक्ती सभामुख वा उपसभामुख हुन्छ । त्यस हिसावले हेर्दा प्रधानमन्त्रीको रुचीको व्यक्ती पनि सभामुख हुने संभावना उत्तिकै छ । प्रधानमन्त्रीको चाहना मात्र नभई नेकपाले निर्णय गरेर उम्मेदवार अघि सार्नु पर्ने र पार्टी एकताका बेला गरेको सहमति र एकताका कतिपय काम बाँकी नै रहेको सन्दर्भमा सभामुख पदमा पूर्व माओवादीको दावी सान्दार्भिक भएको एक केन्द्रीय नेता बताउछन् । यदी उनको तर्कलाई मान्ने हो भने प्रधानमन्त्रीको रुची र अध्यक्ष प्रचण्डको रुचीका बीचमा सहमति खोज्नुपर्ने अवस्था सृजना हुने देखिएको छ । 

सरकारलाई संसदबाट ढुक्कको समर्थन खोज्न तथा आफ्ना विश्वास पात्रलाई सभामुख बनाएर संसदबाट हुने असहयोग वा विरोध रोक्न पनि प्रधानमन्त्री ओलीले सभामुखमा पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अघि सारेका छन् । नेम्वाङले समेत सभामुखका रुपमा फेरी संसद प्रवेश गर्ने रुची देखाएका छन् । 

समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘यस विषयमा मलाई बालुवाटार देखि खुमल्टार सम्मले नबोल्नु भन्नु भएको छ । यो विषय भनेको कसैले रुची गर्दैमा वा चर्चा गर्दैमा हुने विषय होईन । पार्टीले, पार्टीका अध्यक्षद्वयले गर्ने निर्णय हो । अव पूर्व माओवादी वा पूर्व एमाले भनेर पछाडि फर्कनु हुदैन । नेताहरुले त्यसरी निर्णय गर्छन जस्तो मलाई लाग्दैन ।’

चौथा संभावना : गृहमन्त्री थापाको प्राथामिकता
गृहमन्त्री रामबहादुर थापा नेकपा भित्रको विभिन्न चार गुट मध्य सवैभन्दा सानो गुट अथवा प्रचण्डको उपगुटका नेता हुन् । उनले पार्टी एकिकरणका बेला आफ्नो गुटका नेताको समेत उपश्थिति वा सहभागिताका लागि स्पस्ट लविङ गर्दै आएका छन् । त्यस हिसावले उनले समेत नेपाली कम्यूनिष्ट आन्दोलनकै एक स्थापित तथा बरिष्ठ नेतृ पंफा भुषालाई सभामुख बनाउनु पर्ने तर्क अघि सारेका छन् । भुषाललाई मन्त्री बनाउने उनको प्रयास सफल हुन नसकेपछि सभामुखका लागि उनको पक्षमा गृहमन्त्री थापाले लविङ गरिरहेको बालुवाटार स्रोतको दावी छ । 

नेता थापाले आफ्नो समूहबाट भुषालाई बनाउन नसकेमा विकल्पको रुपमा अहिले पनि नेकपाको प्रमूख सचेतक रहेको नेता देव गुरुङलाई समेत अघि सारेको उनि निकटस्थको दावी छ ।

नेपाली राजनीतिमा पछिल्लो चरणमा भएका कतिपय परिघटनाहरु नियाल्ने हो भने आमा मानिसहरुले अनुमान गरिरहेको भन्दा भिन्न र कतिपय त आश्चार्यचकित बनाउने प्रकृतिका छन् । नेकपाको एकता वा चुनावी गठबन्धन त्यसैका उदाहरण हुन् । 

त्यसैले सभामुखका लागि चर्चा गरिएका उपरोक्त पात्रहरु सहज राजनीतिक अवस्थामा अघि सारिएका संभावित पात्रहरु हुन् । राजनीतिमा उलटफेर आएमा सभामुखको पदमा नयाँ अनुहारहरु समेत आउने संभावना जिवितै रहने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर