• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

त्रिविमा नक्कली परीक्षकले लगे २१ लाख

काठमाडाै‌ । नक्कली परीक्षकका नाममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २१ लाख १७ हजार भुक्तानी भएको छ । ०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताए ।

नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको उनले बताए ।

त्यतिवेला परीक्षण गरेको उत्तरपुस्तिकाको संख्यासहित भौचर ल्याउनेलाई चेकमार्फत भुक्तानी दिने थियो । केवल रसिदको भरमा नगद कारोबार हुँदा हिनामिना भएको त्रिविका पदाधिकारीहरू स्विकार्छन् ।
त्रिविले रकम हिनामिनाबारे गत ०७५ कात्तिकमै महानगरीय अपराध महाशाखा टेकुमा कागजातसहित उजुरी गरेको थियो । तर, प्रहरीले अहिलेसम्म पनि नक्कली परीक्षक पत्ता लगाउन नसकेको त्रिविका रजिस्ट्रार तथा परीक्षा समितिका अध्यक्ष प्रा.डिल्ली उप्रेतीले बताए ।

यो घटनाअघि कति रकम हिनामिना भयो भन्ने हिसाब भने पनिकासँग छैन । ‘अहिले कसले भुक्तानी लगेको हो भन्ने पत्ता लाग्यो भने अरू पनि खोजी गर्छौँ । कहिलेदेखि रहेछ भन्ने आशंका मेटाउन पनि थप छानबिन गर्छौँ,’ परीक्षा नियन्त्रक जोशीले भने ।

नक्कली परीक्षक खडा गरेर रकम हिनामिना भएपछि पनिकाले अहिले भने बैंक खातामार्फत कारोबार गर्न थालेको छ । उत्तरपुस्तिकाको भौचर विभिन्न संकाय र तहको गोप्य शाखामा संकलन गरेपछि लेखाले सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गरिदिन थालेको छ ।

नियन्त्रक जोशीले शाखाबाहेक अन्यत्रबाट भौचर नजाने तथा गोप्य र लेखामा दोहोरो भेरिफिकेसन गरेर मात्र भुक्तानी रकम सीधै खातामा जम्मा गर्ने सिस्टम बनाएको बताए । अब चुहावट रोकिने त्रिवि पदाधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर