• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

फातीको कीर्तिमानसँगै बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ ले पराजित गरेको छ । युवा फरवार्ड अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

जितसँगै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सपना चकनाचुर पारिदिएको छ। इन्टर मिलानको च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को यात्रा तय गर्ने सपना बार्सिलोनाले टुटाएको हो ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गरेर जित निकालेको हो । २३ औँ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । घरेलु टोली इन्टर मिलानका लागि ४४ औँ मिनेटमा रामेलु लुकाकुले बराबरी गोल फर्काए ।

तर, खेलको अन्तिम समय इन्टर मिलानका लागि घातक बन्यो र घातक बने १७ वर्षका किशोर खेलाडी अन्सु फाती । ८५ औँ मिनेटमा मैदान छिरेका फातीले त्यसको एक मिनेटपछि नै बार्सिलोनाका लागि विजयी गोल गरे ।

उनी च्याम्पियन्स लिग फुटबलको इतिहासमा सबै भन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । फातीले लुइस स्वारेजको पासमा गोल गरेका हुन् । यसअघि नै अन्तिम १६ मा पुग्ने निश्चित भएको बार्सिलोना यो जितपछि १४ अंकसहित समूह विजेता बन्यो । इन्टर मिलान भने ७ अंकसहित तेस्रो स्थानमा रह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर