मजदूरले बन्द गराए सिमेन्ट उद्योग, आज पनि प्रदर्शन जारी

काठमाडौं । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर संघका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए । 

घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । 

आज दिउँसो दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदूर सङ्गठन प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिनुभयो । “मारुति सिमेन्ट व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौँ”, सचिव देवले भन्नुभयो, “तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।”

मजदूरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदूरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर