• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

शिवकुमारी र मिलनरानुकी साझा छोरी ‘सुम्निमा’

विराटगनर । उनी दश महिनाकी भइन् ।

आमाको काखमा खेल्ने रमाउने बेला छ ।

सुम्निमा आमासँगै बस्छिन् ।

आमासँग बसेपनि राती आमासँग सुत्दिनन् ।

दिनभरी अरुसँगै खेल्छिन् । मंगलबार दिउँसो शिवकुमारीले सुम्निमालाई काखमा बोक्न खोजिन् । उनी मानिनन् र रुन थालिन् । बच्चा रुन थालेपनि शिवकुमारीलाई भने खास फरक परेन आफ्नै सुरमा अलमलिइन् । छेउमै बसिरहेकी मिलनरानु दासले बोलाएपछि सुम्निमा खुसी हुँदै गइन् । दासकै काखमा खेल्न थालिन् । 

सुम्निमाको आमा शिवकुमारी मानसिक बिरामी छिन् । उनलाई त्यो बच्चा कहाँबाट आयो र कसको हो भन्ने थाहा छैन । कसैले सोध्दा भन्छिन् ‘यो कोकले चरोको बच्चा हो ।’ मानसिक बिरामी भएकोले आमाबाट पाउनुपर्ने जति स्याहारसुसार र ममता नपाएपनि मिलनरानुले उनलाई आमाले जस्तै माया दिइरहेकी छिन् । 

हुन त मिलनरानु पनि मानसिक बिरामी नै हुन् । मिलनरानुलाई अघिल्लो महिना विराटनगरको जलजला रोडमा बेवारिसे हिँडिरहेको बेला उद्दार गरेर आश्रममा ल्याइएको थियो । मिलनरानु बच्चा भनेपछि साह्रै माया गर्छिन् । दिनभरी बोक्छिन र खेलाउँछिन् । मिलनरानु भएपछि सुम्निमालाई पनि अरु कोही चाहिँदैन ।

सुम्निमा राती भने निर्मला दर्लामी मगर, पार्वती तिवारी, नबराज केसीसँग पालैपाले सुत्छिन् । उनीहरु आश्रमका स्वयंसेवी अभियान्ताहरु हुन् । राती आमा खोज्दिनन् । जन्मिएपछि आमाले थुप्रै पटक सुम्निमालाई जङ्गलमा छोडिदिएकी थिइन् । आमाको अवस्था नै त्यस्तै थियो जसलाई न त बच्चा जन्माउनु पर्छ भन्ने ज्ञान थियो न त हुर्काउन पर्छ भन्ने नै छ । 

सुम्निमा आमाकी छोरी हुन् । उनको बाबुको पत्तो लागेको छैन । सुम्निमा बिछट्टै राम्री छिन् । मानसिक बिरामी भएर सडकमा डुल्दै गर्दा धनकुटामा सामुहिक बलात्कारमा परेकी थिइन् ।सव ओभरसियर पढ्दै गर्दा मानसिक बिरामी भएकी शिवकुमारीबाट दश महिना अघि सुम्निमाको जन्म भएको हो । 

भदौ अन्तिम सातादेखि सुम्निमा, उनको आमा र मिलनरानु विराटनगर स्थित मानव सेवा आश्रमको संरक्षणमा छन् । मानसिक बिरामीको सन्तान भएर पनि सुम्निमाले पारिवारिक स्नेह र स्हारसुसार पाएकी छिन् ।  आश्रमका स्वयंसेवकहरुले सुम्निमा, शिवकुमारी, मिलनरानु लगायत १६ जना मानसिक बिरामी र असाहायलाई पारिवारिक वातावरण दिएर संरक्षण गर्दै आएका छन् । सुम्निामा शिवकुमारी र मिलनरानुकी साझा छोरी भएर हुर्किंदैछिन् आश्रममा । 

आश्रममा सबै मानसिक बिरामीहरुको नियमित उपचार गर्ने गरिएको छ । कोशी अञ्चल अस्पतालका डा.निमेष राजभण्डारीले निशूल्क विरामीहरुलाई उपचार सेवा दिइरहेका छन् । ‘उपचारबाट केही बिरामीहरु राम्रो हुँदै गएका छन्,’ अभियान्ता नवराज केसीले भने ‘हामीले उद्दार गरेर ल्याएका बिरामीहरुलाई यथासक्य उपचार सेवा दिएका छौं, केही राम्रो पििन भएका छन् । राम्रो भएपछि घर ठेगाना बताउनेहरुको परिवारसम्म पुग्न हामीलाई सहयोग पनि भएको छ ।’

विक्रम सम्वत २०८२ सम्म कसैले पनि सडकमा बस्न नपरोस् भनेर सडकमा भौंतारिदै हिड्ने मानसिक बिरामी र असहायहरुलाई आश्रमले उद्धार गरेर संरक्षण गर्दै आएको छ । यहि सिलसिलामा सुम्निमा पनि आश्रममा खुसिसाथ हुर्कंदैछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर