• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

झापा । झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४ सयभन्दा बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पुलगायतका संरक्षित क्षेत्रबाहेक सबैभन्दा बढी प्रजातिका चरा झापाको मेचीनगरमा रहेका छन् ।

विगत चार वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमार्फत चरासम्बन्धी विशेष अनुसन्धान गरिरहेका खरेलले मेचीनगरमा सिमसार क्षेत्र, सामुदायिक वन र पहाडको सीमासँग जोडिएको क्षेत्र धरै भएका कारण चराका प्रजाति बढी पाइने गरेको जानकारी दिए । 

मेचीनगर–८ जोरसिमलस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको सय मिटर मिटर सिमसार क्षेत्रमा मात्र ४० प्रजातिका चरा रहेको र पछिल्लो समय पोखरामा मात्र पाइने लोपोन्मुख अवस्थाको पहेँलो बगाले बगेडीसमेत यही क्षेत्रमा पाइएको बताए । उनले चोरी सिकारीका कारण पहेँलो जातको बगेडी नेपालमा हराइरहेको अवस्थामा यही क्षेत्रमा मात्र पाएको जिकिर गरे । 

सो क्षेत्रलाई मेचीनगर नगरपालिकाले चरा संरक्षित क्षेत्र घोषणा गरेर अघि बढ्ने हो भने पर्यटन वर्ष २०२० मा विदेशी पर्यटकलाई पनि तान्न सकिने उनको भनाइ छ । दैनिकजसो बिहान ६ बजेदेखि १० बजेसम्म उहाँले नगरमा पाइने चराको तस्बिर, भिडियो र नामको संकलन गर्दै आएका छन् ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा रहेको बताउँदै खरेलले नेपालमा पाइने ९ सय प्रजातिका चरामध्ये झापाको एउटै नगरमा ४ सय प्रजातिका चरा पाइनु सामान्य नरहेको बताए । उनले मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गरेर अनुकूल बासस्थान बनाउन स्थानीय सरकारले पहल गर्ने हो भने विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि ओइरो लाग्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर