प्रदेश २ का सभामुख, उपसभामुख कर्मचारीको तलब आफ्नै खातामा बुझ्छन

जनकपुरधाम । प्रदेश दुईमा प्रदेशसभाका सभामुखदेखि सांसदसम्म निजी सचिवालयको तलब भत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले सचिवालयको पैसा बुझ्नु गैर कानूनी रहेपनि यद्यपि उनीहहरु निजि खाता मार्फत तलब भत्ता बुझ्दै आईरहेको देखिन्छ । 

प्रदेशसभा गठनपछि राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव सभामुख र समाजवादी पार्टीका उपमा देव उपसभामुखमा चयन भएका थिए । उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीको नाममा भर्पाई पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख यादवले पदभार ग्रहण गरेदेखि हालसम्म २० महिनामा निजी सचिवालयका १० कर्मचारीको तलब मासिक २ लाख ७३ हजार ८९० रुपैयाँका दरले ५४ लाख ७७ हजार ८ सय रुपैयाँ व्यक्तिगत खातामा बुझेका छन् ।

सभामुखको निजी सचिवालयमा राजपत्रांकित प्रथम श्रेणीका स्वकीय सचिव, द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, प्रथम स्तरका कार्यालय सहयोगी, कम्प्युटर अपरेटर एक–एकजना, सवारी चालक दुईजना, भान्से, माली र स्विपर गरी १० कर्मचारी राख्न सकिने व्यवस्था सेवा सुविधा सम्बन्धी ऐनमा उल्लेख रहेको छ ।

उपसभामुख उपमा देवले निजी सचिवालयका ७ जना कर्मचारीको तलब एकमुष्ट आफ्नै खातामा बुझ्दै आएकी छन् । देवले पछिल्लो २० महिनामा कर्मचारीको तलब वापतको ३६ लाख ६० हजार रुपैयाँ बुझेकी छन् ।

उनको निजी सचिवालयमा राजपत्रांकित द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सवारीचालक एक, कुक र माली गरी सातजना कर्मचारी राख्न सकिने व्यवस्था छ ।

सभामुख र उपसभामुखझैं सत्तापक्षका मुख्य सचेतक र विपक्षी दलका नेताले पनि निजी सचिवालयको सुविधा पाएका छन् । सत्तापक्षका मुख्य सचेतक शैलेन्द्र यादवले निजी सचिवालयका पाँचजना कर्मचारीको तलब वापतको रकम प्रति महिना १ लाख ४६ हजार ६० रुपैयाँ आफ्नो निजी खातामा बुझ्ने गर्छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले निजी सचिवालयका चारजना कर्मचारीको तलब वापतको रकम प्रतिमहिना १ लाख २५ हजार रुपैयाँ निजी खातामै बुझ्छन् । मण्डलले पनि सचिवालयमा पाँचजना कर्मचारी राख्ने अधिकार पाएका छन् । उनलाई प्रदेशसभाले गाडीको सुविधा उपलब्ध नगराएको हुनाले उनले चालक वापतको रकम पाएका छैनन्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर