• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कविशिरोमणिको जन्मस्थल साहित्यिक पर्यटकीय तीर्थस्थल बन्दै

पाेखरा ।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो–
साथै पर्वत–शृङ्खला विपुल त्यो चौतर्फी देखापर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठूलो चक्चकी
फेरि त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

प्रस्तुत पद्यांश कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो जन्मस्थन अर्घौं अर्चलेलाई सम्झँदै रचना गरेको पूर्वस्मृति शीर्षकको कवितामा  छ । लेखनाथले भनेजस्तै अर्घौं अर्चलेबाट देखिने टलक्क टल्किएको हिमाल, ठ्याक्कै आँगनमा जस्तै छचल्किइरहेका तालतलैया, सेती नदी आदिले यहाँको आकर्षण बढाएको छ नै पछिल्ला समयमा यो स्थल साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ ।

कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको विशेष सक्रियतामा यस स्थललाई साहित्यिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने गरी कामहरू तीव्र रुपमा बढाइएको छ । आफ्ना बाल्यकालका स्मृति गर्दै अध्ययनका लागि राजधानी जानुपरेको र जीवनको उत्तरार्धमा अर्घौं अर्चले टाढा भएको भन्दै कवि शिरोमणिले सोही कवितामा भनेका छन्ः 

चर्को चक्र घुम्यो शनैः समयको, टाढा भयो अर्चले
प्यारा साथी पनि क्रमैसित सबै संसारदेखि–चले ।
देख्दा यो सब तारतम्य विधिको धर्कन्छ छाती सब
त्यो जन्मस्थलमा कठै ११ म कसरी कैले पुगूँला अब ।।

नेपाली साहित्याकाशमा अतुलनीय योगदान गरेका लेखनाथको जन्मस्थलमा देश–विदेशका साहित्यानुरागीलाई स्थलमा पु¥याउने लक्ष्यका साथ समितिले बाटोघाटोदेखि उनका जीवनका हरेक पक्ष र योगदानलाई जीवन्त बनाउने गरी काम गरिरहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए । 

कविशिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटकीय तीर्थस्थल बनाउने गरी समितिको पहलमा उनको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई अघि बढाइसकिएको छ ।

अध्यक्ष लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ । हालसम्म पूर्वाधार निर्माणलगायतमा दुई करोडभन्दा बढी खर्च भइसकेको छ ।

‘सम्पन्न पूर्वाधारका अतिरिक्त समितिले तत्कालीन रुपमा अघिअघि सारेका योजनालाई सम्पन्न गर्न पनि लगभग १० करोड लाग्ने देखिन्छ,’ उनले भने, ‘ओझेलमा परिसकेको जन्मस्थल क्षेत्रको विकास क्रमिक रुपमा बढेको छ, यसका प्रति स्थानीय तह, प्रदेश र संघ सबैको सकारात्मक सोचका कारण हामीलाई उत्साहित बनाएको छ ।’

समितिले कवि शिरोमणिको जन्मस्थल आएर यही बसी साहित्य सिर्जना गर्न चाहने सर्जकका सिर्जना ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ । बहुउद्देश्यीय योजनाअन्तर्गत सिर्जना ग्रामका लागि यसै आर्थिक वर्षमा पोखरा महानगरपालिकाको गौरवपूर्ण आयोजनाका रुपमा ५० लाखको लागतमा पूर्वाधार निर्माण अघि बढ्ने लामिछानेले जानकारी दिए ।

अर्घौं अर्चले कविशिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उनको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएको वास्तविकतामा पछिल्ला वर्षमा यो साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको समितिका उपाध्यक्ष एवं लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले बताए । 

कवि शिरोमणिको जन्मस्थान नै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको अवस्थामा समितिको पहलमा भइरहेका पूर्वाधार विकासले नेपाली साहित्यप्रेमीमा उत्साह थपिएको उनको भनाइ छ । समितिकै पहलमा कविशिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा चिटिक्क सजाएर राखिएको छ ।

जन्मघर परिसरमा नै कविशिरोमणि सङ्ग्रहालय भवन निर्माण गरी उनका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन तथा रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखिएको छ । सङ्ग्रहालय परिसरमा नै उनको जीवनी झल्कने किसिमका श्रव्य दृश्य सामग्री राख्ने सोच अघि बढाइएको छ । शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माण गरिएको छ । 

पृथ्वी राजमार्गअन्तर्गतको अर्घौं चोकस्थित कविशिरोमणिको सालिकदेखि जन्मस्थलसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण साहित्यप्रेमीहरू ठाउँठाउँमा उनका कवितावाचन गर्दै जन्मघरसम्म पुग्ने गरेका छन् । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मको सात किलोमिटर दूरीमा स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्ने व्यवस्था मिलाइएको छ ।

अर्घौं चोकदेखि कविशिरोमणिको जन्मघरबीचको बाटो ठूली पोखरीमा तरुणतपसी पार्क निर्माण गरिएको छ । तालैतालको शहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई यहाँको अर्को आकर्षणका रुपमा कविशिरोमणि सङ्ग्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्त्वपूर्ण आकर्षणका रुपमा अघि बढाउने गरी कामहरू अघि बढेको समितिका सहसचिव रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार समितिले कविशिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने सोच राखेको छ । जन्मस्थल परिसरमा समितिले निर्माण गरेको वनभोज स्थलका साथै सङ्ग्रहालयका कारण पनि विभिन्न विद्यालयबाट वनभोज र सङ्ग्रहालय अवलोकन गर्न आउने क्रम बढिरहेको तिमल्सिनाले बताए । 

लेखनाथको जन्मस्थानलाई साहित्यिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्न खोजिनु नेपाली भाषा साहित्यप्रति उनले पु¥याएको योगदानको कदर भएको छब्दी मावि, ढोरफिर्दी तनहुँकी नेपाली विषयकी शिक्षिका शारदा भट्टराई बताउँछिन् । प्रत्येक विद्यालयका विद्यार्थीलाई एकपटक कवि शिरोमणिको जन्मस्थल पु¥याउन सकेमा उनीहरूले कविशिरोमणिका जीवनीका विविध पक्ष एकसाथ अवलोकन गर्न पाउने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर