• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मधेश आन्दोलनको १३ वर्ष : मधेशले के पायो, के गुमायो ?

जनकपुरधाम । मधेशमा अधिकारका लागि आन्दोलन भएको आज १३ वर्ष पूरा भएको छ । स्वायत्त मधेश एक प्रदेश र पहिचान सहितको अधिकारका लागि १३ वर्ष अगाडी मधेशी जनताले आन्दोलनको शुरुवात गरेका थिए । आजकै दिन मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोले शहादत प्राप्त गरेका थिए । उनकै शहादतको दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ । 

आन्दोलन भएको दिन जति जति जति पूरानो हुँदै गयो आन्दोलनको विरासत पनि कमजोर हुँदै गई रहेको छ । तैपनि मधेश आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । प्रदेश दुईको सरकारले माघ ५ गतेको दिनलाई औपचारिक रुपमै बलिदानी दिवस मनाउँदै आई रहेको छ । 

यस पटक प्रदेश सरकारले बलिदानी दिवस विरगंजमा मनाई रहेको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा आज प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ । 

माघ ५ गते मधेशका लागि साँच्चै महत्वपूर्ण दिन हो । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाललाई त्यसको बारेमा कुरा गर्न समेत फूर्सद छैन । नेता पार्टीको आन्तरिक बैठकमा व्यस्त देखिन्छन् ।

राष्ट्रियसभाको चुनाव नजिक आइसकेको छ । आफ्नो उम्मेदवारलाई विजयी बनाउन नेताहरु छलफलमा व्यस्त छन् । नेतालाई सहिदलाई सम्झने फूर्सद समेत छैन भन्नेहरुको जमात मधेशमा ठूलै छ ।

तथापि मधेश आन्दोलनको शुरुवात भएको दिनमा समेत मधेशवादी दलमा समेत त्यो उर्जा देखिएको छैन । मानौँ, मधेशमा आन्दोलन नै भएको थिएन ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा चाहीँ मधेश आन्दोलनमा मुद्दा खुवै उठाइएको थियो । र, यसले केही न केही काम पनि गर्यो । तत्कालिन संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाले ।

मधेश आन्दोलनबाट मधेशले धेरै थोक पाए भने धेरै थोक गमाए पनि । यद्यपि प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मधेश आन्दोलनबाट मधेशले के गुमायो मलाई त्यो विषयमा थाहा छैन । तर देशले पक्कै संघिय गणतन्त्र पायो यसकै बलमा प्रत्येक नेपाली नागरिक मालिकाना हक लिन तयार भई सकेको मन्त्री यादवले बताए । 

'देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको उल्लेखनीय भूमिका रह्यो जो मधेश आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रह्यो' राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले बताए । 

नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको छ यो पनि मधेश आन्दोलनकै उपज रहेको लाभले बताए ।  तर, मधेशवादी दलले आजको दिनको महत्व भुल्दै गएको आरोप समेत लागि रहेको छ ।

मधेश आन्दोलनकै बलमा देशमा संघियता तथा समावेशिता स्थापित भयो भन्दै लाभले भने ‘मधेशी जनताको पहिचान पनि स्थापित भएको छ ।’ उनले अगाडी भने‘ काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ, मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेका छन् ।’

मधेश मामिलाका जानकारहरु मधेशवादी दलले आन्दोलनको ‘ब्याज’ खाईरहेको आरोप समेत लगाउँदै आई रहेका छन् । राजनीतिक विश्लेषक लाभले मधेशी जनताले चाहेका इस्युहरु अझैसम्म पूरा हुन सकेन, मधेशमा चाहेको जस्तो विकासको अनुभूति हुन सकेन मधेशी जनताले यही गमाएको बताए । मधेशी जनता काठमाडौँका शासकहरुभन्दा पृथक शासन सोचेका थिए तर सो शासनभन्दा केही पृथक अनुभूति मधेशी जनताले गर्न नसकेको लाभले बताए । 

यता राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय प्रवक्ता कृष्णा सिंहले मधेश र मधेशी जनताले आन्दोलनबाट केही गमाएका छैनन्, बरु केही मधेशी नेताहरुले विश्वास गमाएको स्वीकार गरे । 

मधेशका मुद्दाहरु पूर्ण रुपमा पूरा नभईकन नै सत्ता समिकरणबाट मधेशवादी दलहरुलाई बच्न उनले सुझाव दिए । उनले भने ‘मधेशवादी दलसंग पटक पटक समझौता भयो, पटक पटक सरकार गए तर जुन उपलब्धि चाहिनु पर्ने थियो त्यो प्राप्त गर्न सकेन ।’ अगाडी भने ‘मधेशले उपलब्धि प्राप्त गर्ने अवस्थामा मात्रै सत्ता समिकरणको खेलमा लाग्नु पथ्र्यो ।’

मधेशमा बलिदानी दिवसका दिन जुन उत्साह हुनु पर्ने थियो त्यो देखिदैन यस प्रश्नमा राजपाका प्रवक्ता कृष्णा सिंहले यसका लागि मधेशवादी दलहरु नै दोषी रहेको बताए । 

राजनीतिक विश्लेषक लाभले मधेशवादी दलको तुष्टीकरणको राजनीतिकै कारण मधेशी जनतामा त्यो उत्साह नरहेको बताए । 

नेताहरु शहीद परिवारको घाउमा मलहमसम्म लगाउन सकेनन् 
मधेशमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो । तीन वटै मधेश आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे । मधेशको पहिचान स्थापित गराउन ती सबै शहीदहरुको योगदानलाई बिर्सन सकिदैन । तर अहिले आएर माघ ५ गतेदिन एक दिनका लागि शहीदलाई स्मरण गर्नु बाहेक कुनै पक्षले  केही गर्न सकेको छैन । 

बबिता चौधरी प्रदेश दुईका प्रदेशसभा सदस्य हुन् । उनी समानुपातिका कोटामा राजपाबाट प्रदेशसभा सदस्य बनेकी थिइन् । प्रदेशसभा सदस्य चौधरीले आफ्नो परिवारबाट मधेश आन्दोलनको क्रममा दुई जना सदस्य गुमाएकी छिन् । उनले आफ्ना ससुरा गाणेश चौधरी र छोरा रोहन चौधरीलाई मधेश आन्दोलनकै क्रममा गुमाएकी थिइन् । 

उनले मधेशले जे जति पाए पनि आन्दोलनमा शादत प्राप्त गरेका परिवारले अहिलेसम्म केही पाउन नसकेकोमा दुःख व्यक्त गरिन् । चौधरी नेताहरु एक दिन मात्रै बलिदानी दिवसको नाउँमा शहीदहरुलाई स्मरण गरी झारो टार्दै आएको आरोप लगाइन् ।  उनले भनिन् शहीद परिवारसंग भेट्ने सम्म नेताहरुलाई फुर्सद छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर