• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संचारमन्त्री बाँस्कोटाले सचिवालयमा राखे पूर्व जनसेनाका सदस्य

काठमाडौं ।  तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको लामो समयसम्म पार्टी एकीकरणका कामहरुले गति लिन सकेन् । 

पार्टी एकीकरण ढिला हुनुको प्रमुख कारण, पार्टीभित्र देखिएको ‘पूर्व एमाले’ र ‘पूर्व माओवादी’ भन्दै भएको वैचारिक युद्ध नै थियो । पार्टी एकीकरणपछि पार्टी एक भएपनि विभिन्न विचारहरु नमिल्दा बेला बेलामा खटपट पनि आउन थालिसकेको छ । 

पार्टी एकीकरणपछि नियुक्त भएका प्रधानमन्त्री, मन्त्री, नगर प्रमुख, गाउँ प्रमुखदेखि सबैतिर हुने नियुक्तिमा पनि पूर्व एमाले र माओवादी भन्ने छाप छर्लङ्ग देखिन्छ । 

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा कुनै माओवादी खेमाका मान्छेहरु राखेका छैनन् । उनले मात्र होइन, माओवादी खेमाका कुनै मन्त्रीले पनि आफ्नो सचिवालयमा एमाले खेमाका कुनै सदस्यलाई नियुक्त दिएका छैनन् । 

अर्थात, पार्टीभित्र एकप्रकारको वैचारिक द्वन्द चलिरहेको छ ।

उक्त भ्रम विस्तारै कमी हुँदै गएको छ । 

सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो सचिवालमा पूर्व माओवादी खेमाका सदस्यको ‘इन्ट्री’ गराएका छन् । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले माओवादी केन्द्र निकट ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका डण्डु शेर्पालाई आफ्नो सचिवालयमा ‘ईन्ट्री’ गराएका थिए । 

मन्त्री बाँस्कोटाले आफ्नो सचिवालयमा पूर्व माओवादी जनसेनाको प्रवेश गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिने मन्त्री बाँस्कोटाले ०६१ सालदेखि जनयुद्धमा सरिक भएका जनसेना सुन्दर खड्का ‘रविन’ लाई सचिवालयमा नियुक्त गरेका छन् । 

उनी जनयुद्धमा जनसेना भएर काम गरेका थिए । शान्ति प्रक्रियापछि उनी तत्कालिन वाइसिएल नेपालमा सक्रिय भएर काम गरे । 

०७२ सालदेखि वाइसिएल काभ्रेको अध्यक्ष भएर काम गरेका खड्का अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य पनि थिए । 

यसअघि प्रधानमन्त्री ओलीलाई आफ्नो सचिवालयमा पूर्व माओवादी खेमाका सदस्यहरुको नियुक्त गर्नका लागि भनिएको थियो । अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नै उक्त प्रस्ताव प्रधानमन्त्रीलाई गरेपनि त्यतिबेला प्रधानमन्त्रीले प्रस्ताव अस्वीकार गरेका थिए ।

धनकुटाका नेता तथा नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीलाई सचिवालयमा नियुक्त गर्नका लागि त्यसबेला प्रचण्डले गरेको अनुरोध प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर