• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोभिड–१९सम्बन्धी ठूलो अध्ययनको निष्कर्ष : ८० वर्षमाथिका मानिसको मृत्युदर उच्च

एजेन्सी । चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन्  । यसमा ७० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन् । 

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो ।

उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ । सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो ।

त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्‍टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड–१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ।

उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्‍टि गरेको छ । अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ ।

मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो ।

एक्काउन्न वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए ।

कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ ।

चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । उक्त अध्ययनले समग्रमा कोभिड१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ ।

मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ सङ्क्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ ।

अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ । बिबीसी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर