• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अनेरास्ववियूमा बढ्दै आन्तरिक असमझदारी : कतै कुटाकुट, कतै बैठक बहिस्कार

काठमाडौं । ‘आज उपत्यकामा अनेरास्ववियूको कुनै भेला छैन । नेतृत्व त्यहाँ भेला स्थगनको जानकारी दिन गएको हो ।’ अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखे । 

उनले फेसबुकमा स्टाटस राखेको केहीबेरमा अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङले अर्को स्टाटस राखे । त्यहाँ भनिएको थियो, ‘संयोजक र म आज भनिएको भेला स्थगित गर्न धुम्बारही पार्टी कार्यालय पुगेका छौं । आन्तरिक तयारी नपुगेको हुँदा भेला आज स्थगित गरिएको छ, चाँडै अर्को भेलाको जानकारी गराईने छ ।’

नेकपा सम्बद्द विद्यार्थी नेताहरुको यी दुई स्टाटसले संगठनभित्र चल्दै गएको असमझदारी प्रस्ट्याएको छ । 

अनेरास्ववियूले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा उपत्यकास्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त भेलामा पूर्वमाओवादी सम्बन्द्ध कार्यकर्ताको उपस्थिति थिएन् । 

तर, अनेरास्ववियू सह–संयोजक रन्जित तामाङको भने उपस्थिति थियो । उनी पूर्व माओवादी खेमाका नेता हुन् । पार्टी केन्द्रीय कमिटीले आयोजना गरेको उक्त भेला सुरु गरेर स्थगन गरिएको हो । आन्तरिक तयारी नपुगेको हुँदा भेला स्थगित भएको जानकारी सह संयोजक तामाङले दिए ।

योसंगै, पार्टी एकता भएपछि पार्टी केन्द्रदेखि युवा संगठन हुँदै विस्तार हुँदै गएको ‘पूर्व एमाले’ र ‘पूर्व माओवादी’ भन्ने भाव विस्तार विद्यार्थी संगठनमा देखिँदै गएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले जनयुद्ध दिवसबारे दिएको अभिव्यक्तिपश्चात विद्यार्थी संगठनमा असमझदारीहरु बढ्दै गएको नेताहरु बताउँछन् ।

उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेल निकट मानिने थापालाई पार्टीको दस्तावेज पढेर प्रतिक्रिया दिन भन्दै अनेरास्ववियूका नेताहरुले सार्वजनिक मञ्चबाटै अपील गर्न थालेका छन् । 

एक विद्यार्थी नेताका अनुसार मंगलबारको धुम्बाराही बैठकमा यस्तो समस्या देखिनुमा पछिल्लो पटक दुई क्याम्पसमा संगठनभित्रकै कार्यकर्ताबिच बढेको विवाद भएको बताउँछन् । 

सोमबारमात्र चितवनको रामपुरमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका नेता कार्यकर्ताबीच झडप भएको थियो । यसअघि, काठमाडौंको अस्कल क्याम्पसमा भएको झगडाले पनि संगठनभित्र यो अवस्था आइपुगेको उनको ठहर छ ।

अनेरास्ववियूकी नेतृ सुनिता बरालले धुम्बाराहीमा भएको बैठकमा पूर्व अनेरास्ववियू क्रान्तिकारीका केही साथिहरु अनुपस्थित रहेको स्पष्ट पारिन् । समाचार दैनिकसंग कुराकानी गर्दै उनले भनिन्, ‘विगत केही दिनमा देशका विभिन्न क्याम्पसमा देखिएको समस्याका कारण संगठनभित्र केही दरार आएजस्तो भएको छ ।’ उनले भनिन्,‘आजको बैठकमा उपस्थित नभएका साथिहरु यदी सुझबुझपूर्ण तरिकाबाट नआएको हो भने त्यो संगठनका लागि राम्रो होइन् । उहाँहरु व्यक्तिगत कारणले आउन नपाउनुभएको हुनसक्छ ।’ 

उनका अनुसार केही क्याम्पसमा व्यक्तिगत र केही क्याम्पसमा राजनीतिक समस्या छन् । ‘लामो समयसम्म फरक फरक पृष्ठभूमिबाट आएको कारण यस्ता समस्या आउनु स्वभाविक हो ।’ उनले भनिन् ‘हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता भएकाले नेतृत्वको विषयलाई ध्यान दिनुपर्छ ।’

त्यस्तै, अनेरास्ववियूका अर्का नेता तिलक राज भण्डारीले तयारी नपुगेका कारण कार्यक्रम गर्ने भन्ने भएको आवश्यक तयारी नपुगेको कारण बैठक स्थगित भएको जानकारी दिए । एकताका बाँकी कामहरु पूरा गर्नपर्ने र केही साथिहरुमा भएको असमझदारी दूर गर्न बैठक स्थगित भएको उनले बताए । 

त्यस्तै, अनेरास्ववियुकै अर्का नेता वसिम आलमले संगठनको कुनै कमिटीबाट निर्णय नगरि भेला आयोजना हुन नसक्ने बताए । उनले पनि आफुखुसी भेला आयोजना गर्दै हिड्ने अधिकार कसैलाई नभएको बताए ।  आलमले फेसबुकमा लेखेका छन्, ‘संगठनभित्र न कुनै छ्लफल, न कुनै निर्णय आफूखुसी भेला बैठक बोलाउने अधिकार कसैलाई आफुखुसि आफ्नो इच्छाले गरिएको भेला बैठक संगठनको हुँदै होइन। एउटा सामान्य क्लब त विधानले चल्छ भने यत्रो ठुलो संगठनको त झन छुट्टै नीति नियम हुन्छ। आज अनेरास्ववियूको नाममा केन्द्रिय कमिटी द्वारा आयोजीत उपत्यका स्थरिय भेलाको कुनै पनि कमिटीमा निर्णय भएको छैन । छभने आधिकारिकता खै ?’ उनले भनेका छन् ।

के भएको थियो चितवन रामपूरमा ? 

नेकपाका विद्यार्थीहरुको दुई पक्षबीचको कुटाकुटले सोमबार चितवनको रामपूरा तनावग्रस्त भयो । पूर्व एमाले र माआृवादी निकट अनेरास्ववियूका कार्यकर्ताबीच भएको पटक पटकको झण्डले उग्र रुप लिएको थियो ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । कारण विद्यार्थी नेताहरुबीचमा देखिएको विवाद नै थियो । 

सोही घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड समेत भयो । स्रोतका अनुसार विवाद जनयुद्ध दिवसदेखि नै सुरु भएको थियो । 

जनयुद्ध दिवसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापाले दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक रुप लिएपछि यहाँका झनै तनावग्रस्त भएको थियोे । 

जनयुद्ध दिवसको कार्यक्रम रोक्न वा विवादीत बनाउन पूर्वएमालेका कार्यकर्ताहरु त्यहीबेला लागेको र सोको परिणाम केन्द्रीय कमिटीसम्म पुगेको अनेरास्ववियू निकट स्रोत भन्छ । 

फागुन १ गतेको कार्यक्रम विथोल्न नेकपा एमाले निकट नेता कार्यकर्ताहरु लागेका कारण स्थिति असामान्य भएको स्रोतको दाबी छ । रामपुर क्याम्पसभित्र नै लगभग सकिएको भनिएको उक्त झगडा दुवै पक्षबीच सहमति नजिक पुगेको थियो । तर, विषय पार्टी केन्द्रीय कमिटीमा पुगेपछि क्रान्तिकारीका सचिव दिनेश पौडेललाइ अखिलद्वारा होस्टेल (सगरमाथा) मा एक्लै बोलाएर कुटपिट भएपछि घटना साम्य नभएको स्रोतको भनाई छ । 

लगत्तै, दिनेशलाई फोन गर्दा चिच्याएको आवाज आएर त्यहाँ पुगेका अर्का दुई विद्यार्थीमाथि पनि कुटपिट भएको स्रोतले जानकारी दियो ।

के भएको थियो अस्कलमा ? 
लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा विद्यार्थीमाथि खुकुरी प्रहार भयो । अनेरास्ववियूको आपसी विवादको कारण विद्यार्थीमाथि  शुक्रबार खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष खेम सिंहसहित हिक्मत सिंखडा, अर्जनु भण्डारी र राजन फडेरा घाइते भए । भण्डारी अखिल क्रान्तिकारीका अस्कल क्याम्पस कमिटी सदस्य हुन् । 

एकता प्रक्रिया चलिरहेको बेला क्याम्पसमा आयोजना भएको कार्यक्रमपछि दुई समूहबीच विवाद भएको हो । त्यही विवादकै कारण विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर