• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री भट्ट

फाइल तस्बिर

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताएका छन् । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रदेशसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य व्यक्त गर्दै मुख्य मन्त्री भट्टले नयाँ राज्य व्यवस्थालाई अगाडि बढाउनुपर्ने अभ्यासका क्रममा देखिएका विभिन्न समस्याका बाबजुद सरकार आफ्नो नीति कार्यक्रम अनुसार अघि बढिरहेको स्पष्ट पारे ।
 
सरकार गठनको दुई वर्ष चुनौती सँगसँगै अवसरको वर्ष रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो भन्दा फरक तरिकाको व्यवस्था र फरक ढङ्गले काम गर्नुपर्ने अवस्था रहेकाले सिक्दै र सिकाउँदै अगाडि बढ्नुपर्ने कुरा महत्वपूर्ण हो ।” मुख्य मन्त्रीले भौतिक संरचना, आवश्यक कानून, कर्मचारी, अनुभवको अभावजस्ता कारणले जनताको चाहना र अपेक्षा अनुसारको पर्याप्त काम गर्न नसकिएको स्वीकार्दै सङ्घीय व्यवस्थालाई अगाडि बढाउन सबैले मेहनत गर्न जरुरी रहेको उल्लेख गरे ।
  
हिजोको भन्दा फरक सोच, शैली, व्यवहारले देशलाई अगाडि बढाउन जरुरी रहेकोमा जोड दिनुहुँदै उनले भने, ‘सङ्घीयताको समीक्षा दुई वर्षमा नै गर्ने कुरा अपर्याप्त छ ।’ उनले सङ्घीय सरकारले बनाउनुपर्ने कानून बन्नमा भएको ढिलाइले अपेक्षाकृत रुपमा प्रदेश सरकारले आफ्नो काममा गति दिन नसकेको उल्लेख गरे । 

बजेट खर्च गर्नमा प्रदेश सरकारले अन्य प्रदेशकै हाराहारीमा प्रगति गरेको उल्लेख गर्दै चालू वर्षको विकास बजेट धेरै भन्दा धेरै खर्च गर्ने प्रयासमा सरकार रहेको उल्लेख गर्दै उनले भने, ‘विकासका काममा भौतिक प्रगतिसहितको खर्च देखाउने कुरामा सरकारले काम गरिरहेको छ ।’ विकासका दृष्टिमा पछि परेको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका लागि समानुपातिक ढङ्गले बढी बजेट विनियोजन गर्नुपर्छ भनेर आफूले केन्द्रीय सरकारसँग पहल गरेको उनले बताए । दुई वर्षको अवधिमा प्रदेशमा चार हजार ४०१ हेक्टर जग्गामा सिँचाइ पुर्याइएको, पानीको स्रोत नभएका क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना सञ्चालनको तयारी गरिएको जानकारी उनले दिए । 
 
यो अवधिमा प्रदेशमा १४ वटा खानेपानी आयोजनाको निर्माण, र थप २९२ योजना निर्माणाधीन रहेको, ५६२ किलोटिर सडकको ट्र्याक खोलिएको, १८७ किमि सडक कालोपत्र गरिएको, झोलुङ्गे पुलका आयोजना अघि बढाइएको मुख्य मन्त्रीले आफ्नो सम्बोधनमा बताए । महाकाली करिडोर, सेती लोकमार्ग धनगढी दीपायल ‘फास्ट ट्र्याक‘ र हुलाकी राजमार्ग, पश्चिम सेती जलविद्युत् आयोजना जस्ता ठूला विकासका आयोजनाको निर्माण तीव्रता दिन पहल गरिएको बताए ।

प्रदेशको बससेवा सञ्चालनका लागि प्रदेश यातायात निगम गठन गरी प्रक्रिया अघि बढेको, प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम कार्यान्वयको चरणमा रहेको, कृषि बालीको पकेटक्षेत्र बनाउन लागिएको, प्रदेश सरकारले आफै बनाउनसक्ने जलविद्युत् आयोजना अघि बढाउन प्रक्रिया अघि बढेको मुख्य मन्त्रीले बताए ।

उनले जडीबुटीको प्रशोधन केन्द्र र कारखाना स्थापनाका लागि पहल भएको, पर्यटनको विकासका लागि पाँचवटा पर्यटन करिडोरको अवधारणका साथ सरकार अघि बढेको उल्लेख गदै यसका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले बजारको माग अनुसार शिक्षा नीति बनाउन जरुरी रहेको बताउँदै प्रदेशको शिक्षा नीतिका बारेमा अध्ययन शुरु गरिएको बताए ।  बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले छुट्टाछुट्टै रुपमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर