• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चीन र अमेरिका प्रतिस्पर्धाबीच नै सहकार्य हुनसक्छ

व्यापार युद्धलाई बिर्सौ । चीन र अमेरिकालाई एक्काइसौंँ शताब्दीका गम्भीर चुनौती र प्रतिस्पर्धाको बीच पनि सहकार्यमा जोड्न सक्ने आधार छन् । तर, फेरि दुई देशले कल्पना नगरेको कुनै घटनाले अकल्पनीय द्वन्द्व सुरु गराउन सक्ने खतरा पनि छ । दुई देशबीच द्वन्द्व सुरु गराउन सक्ने त्यस्तो विन्दु दक्षिण चीन सागर बन्न सक्छ ।

सन् २०१४बाट चीनले दक्षिणी चीन सागरका टापु र त्यहाँको पानीमा ‘निर्विवाद सम्प्रभुत्व ’को स्पष्ट दाबी गर्न थालेको हो । ‘दक्षिण चीन सागरका टापु पत्ता लगाउने, नामकरण गर्ने र त्यहाँ स्रोतको खोजी एवं दोहन र तीमाथि सार्वभौम शक्तिको निरन्तर अभ्यास गर्ने पहिलो मुलुक चीन हो’ भन्ने चीनको तर्क हो । 

यो क्षेत्रका केही तटवर्ती मुलुक खासगरी फिलिपिन्स, भियतनाम, ब्रुनाई, मलेसिया, इन्डोनेसिया यसमा असहमत देखिन्छन् । आफ्नो इतिहास र भूगोलका आधारमा उनीहरूको आ–आफ्नै दाबी छ । अमेरिकाले यो क्षेत्रको पानीमा स्वतन्त्र आवागमन सुरक्षित होस् भन्ने मात्रै चाहेको भन्दै सार्वभौमिकतामाथिको विवादमा आफूले कसैको पक्ष नलिने वाचा गरेको छ । तर, चीनले चाहिँ अमेरिकाको त्यस तटस्थताको वचनबद्धतालाई ‘कपटपूर्ण चालबाजी’ हो भनी बुझ्न गार्हो छैन ।

राजनीतिशास्त्री एम.टेलर फ्रेभेलजस्ता विद्वानले पनि अमेरिकी नीतिमा अन्तर्निहित विरोधाभास औँल्याएका छन्ः यस क्षेत्रमा आफ्नो पुनरोदय र स्थानीय विवादबाट बाहिरै रहने अमेरिकी दाबीमा विरोधाभाष छ । विशेषगरी एक चीन नीतिलाई मान्यता दिएयता अमेरिकाले चीनलाई नै त्यहाँ तनावको प्राथमिक स्रोत मान्छ । यति मात्रै होइन, चीन नियन्त्रित टापुनजिक चिनियाँ गस्ती जहाजसँग अमेरिकी सैन्यजहाजको खतरनाक मुठभेड हुन सक्ने जोखिम पनि बढेको छ ।

सन् २००१, २००९, २०१३, २०१४, २०१५ र २०१८मा अमेरिकी र चिनियाँ सैन्य जहाज आमनेसामने भएका छन् । अमेरिकी नौसेनाले चीनले दाबी गरेको जलक्षेत्रमा समेत आफ्नो स्वतन्त्र आवागमन बढाउँदै लगेकाले दुर्घटनाको जोखिम बढेको छ । गत सेप्टेम्बर २०१८मा अमेरिकी सैन्य पानीजहाज डेकाटुर र चिनियाँ जहाज लान्झु केवल ४५ यार्डको दूरीमा पुगेर टाढिएका थिए । वासिङ्टनले नियतवश बेइजिङसँगको प्रतिस्पर्धालाई तीव्र पारिरहेको सन्दर्भमा उदीयमान चीन आफ्नो सार्वभौम अधिकारको रक्षाका लागि अझ दृढसंकल्पित हुन सक्छ । इतिहासकार थुसेडाइड्सले युद्धको प्रमुख कारणका रूपमा तीन उत्तेजकको पहिचान गरेका छन् : डर, आत्मसम्मान र आफ्नो हित । दक्षिण चीन सागरमा यी सबै कुरा विद्यमान छन् । 

चीनले दक्षिण चीन सागरमा उपस्थिति बढाउँदै लगेको छ । ट्रम्पप्रशासनले चीनलाई आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी दस्ताबेजमा ‘रणनीतिक प्रतिस्पर्धी’को उपमा दिँदै आएको छ । वासिङ्टन बेइजिङलाई ‘संशोधनवादी शक्ति’ भन्छ । प्रतिक्रियास्वरूप चीनले पनि गत ग्रीष्ममा एउटा प्रतिरक्षा श्वेतपत्र जारी गर्‍यो, जसमा अमेरिकालाई ‘एकपक्षीय नीति अपनाएको’ र ‘प्रमुख देशबीच शत्रुता बढाएको’ आरोप लगाइएको छ । पारो दुवैतर्फ तातेको छ, यस्तोमा चीन र अमेरिकाबीच नयाँ द्वन्द्व वा शीतयुद्धलाई कसरी टार्न सकिएला ? यसका लागि हिजोको शीतयुद्धबाट पाठ सिक्न सकिन्छ ।  

शीतयुद्धको लामो गतिरोधको सुरुका वर्षमा, अमेरिका र सोभियत संघका युद्धक विमान एक–अर्कालाई तेस्र्याउन हिचकिचाउँदैनथे । जर्मनको विभाजनलाई लिएर अमेरिका र सोभियत रुसबीच सन् १९४८, १९५८, र १९६१मा तीनपटक संकटपूर्ण अवस्था सिर्जना भएको थियो । सन् १९६२ को अक्टोबरमा क्युवाली क्षेप्यास्त्र संकटले दुई महाशक्ति देशलाई आणविक युद्धको मुखमै पु‍र्‍याएको हो । तर, आपत्कालीन सञ्चार र केही साना सम्झौतापछि सम्भावित युद्धसंकट टरेको थियो । 

सन् १९७२ मा वासिङ्टन र मस्कोले ‘हाई सी’मा मुठभेडको दुर्घटना रोक्न सीधा सञ्चार प्रयोग गर्ने, आफ्नो निगरानी र अभ्यासमा रहेका जहाजलाई जोखिममा पर्नबाट बचाउन सतर्कता र विवेक प्रयोग गर्नेलगायत प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् १९८८ फेब्रुअरीमा त्यस सम्झौताले सोभियत संघको पानीमा दुईवटा सोभियत र दुईवटा अमेरिकी पानीजहाजबीच भएको दुर्घटनालाई रोक्न भने सकेन । यद्यपि, त्यो हाई सीको घटना थिएन । तथापि, सम्झौताले खतरनाक मुठभेडको समग्र जोखिमलाई एकदमै कम गरेको देखिन्छ । अमेरिकाको नेभल वार कलेजका प्राध्यापक राउल पेटे पेद्रोजोद्वारा प्रकाशित अनुसन्धानपत्रअनुसार त्यो सम्झौता लागू भएको दुई वर्षभित्रमा यस्ता घटना प्रतिवर्ष १०० बाट घटेर ४० पुगेको थियो । शीतयुद्धको त्यति लामो अवधिमा सोभियत रुस र अमेरिका ठूलो द्वन्द्वबाट बच्न सकेका थिए । यस पृष्ठभूमिमा चीन र अमेरिकाबीच द्वन्द्व नभड्किने विश्वास गर्ने ठाउँ छ । 

चीन र अमेरिकाबीच अमेरिका र सोभियत संघबीचजस्तो विश्वव्यापी खालको सैन्य प्रतिस्पर्धा छैन । त्यो सैन्य प्रतिस्पर्धा पश्चिमी प्रशान्तमा मात्र सीमित देखिन्छ । अमेरिकाको मनस्थितिमा प्रशान्त महासागर क्षेत्रबाट चीनले आफूलाई निकाल्न लागेको भन्ने छ । चीन भने अमेरिकाले उसको जलसेना बनाउने वैधानिक आकांक्षालाई रोक्न र चीनको प्रभावलाई एसियाको पूर्वी तटमै सीमित गर्न प्रयास गरिरहेको सोच्छ । सैन्य क्षमताको वृद्धिका बाबजुद चीनले अमेरिकालाई विश्व प्रहरीको भूमिकाबाट विस्थापित गर्नमा चासो देखाएको देखिँदैन ।

चीन देशभबाहिरको एक मात्र सैन्य अखडा अडेनको खाडी तैनाथ गरेको छ । जुन त्यस क्षेत्रको समुद्री डकैती नियन्त्रणमा सीमित छ । अर्कोतर्फ अमेरिकी नौसेनाचाहिँ एसिया प्रशान्त क्षेत्रमा नियोजित रूपले अन्य तटवर्ती मुलुकका दाबीअन्तर्गतको जलक्षेत्रमा युद्धपोत पठाउन उद्यत छ । 

केही समयअघि चिनियाँ रक्षामन्त्री वेई फेंगेले चीन—अमेरिका सैन्यसम्बन्ध धेरै अवस्थामा स्थिर रहे पनि कहिलेकाहीँ चुनौतीपूर्ण हुने टिप्पणी गरेका थिए । अहिले चीन र अमेरिकाबीच विश्वास निर्माणका उपाय सोभियत संघ र अमेरिकाबीचको शीतयुद्धको अवधिको भन्दा पनि एकदमै प्रारम्भिक खालका छन् । यसको अर्थ शत्रुता त्यस्तो सघन छैन भन्ने पनि हुन सक्छ । यद्यपि पछि यस्ता धेरै उपाय आवश्यक हुँदै जानेछन् । सन् १९९८मा, आ–आफ्नो वायु एवं जलसेनाबीच परामर्शको स्थायी सञ्जाल स्थापित गर्न चीन र अमेरिकाले सैन्य समुद्री परामर्श सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् २०१४मा पनि एउटा गैरबाध्यकारी आचारसंहिता र एमओयु गरिएको थियो । हुन त, सन् १९९८को सम्झौतापछि पनि चिनियाँ र अमेरिकी विमान ठोक्किन पुगेका छन् । विश्वासले दुर्घटना रोक्न सक्दैन, तर कुनै दुर्घटनाबाट उत्पन्न हुने परिस्थिति नियन्त्रणका लागि चीन र अमेरिकाबीच यस्ता सम्बन्ध सेतु विकास गर्न आवश्यक छ ।

अहिले, चीनको सैन्यशक्ति बढ्दै गएर अमेरिकाकै स्तरमा पुग्दै छ । दुई मुलुकले डकैती र प्रकोप राहतजस्ता क्षेत्रमा मात्र होइन, अन्तरिक्ष अन्वेषण, साइबर–स्पेस र एआइका क्षेत्रमा पनि नियम बनाउन सहकार्य गर्नुपर्नेछ । परम्परागत रूपमा दुई विपरीत शक्ति ‘यिन’ र ‘याङ’मा विश्वास गर्ने चिनियाँ जनतामा प्रतिद्वन्द्वीले पनि सहयोग पु‍र्‍याउँछ भन्ने अवधारणालाई आत्मसात् गर्न कठिन नहोला । तर, अमेरिकाका लागि भने समस्या हुने देखिन्छ । चीन अझै अमेरिकाजस्तो लोकतान्त्रिक भइसकेको छैन भनेर वासिङ्टन र अन्य पश्चिमा मुलुक असन्तुष्टि व्यक्त गर्ने गर्छन् । तर, के चीनले कहिल्यै अमेरिकाजस्तो हुने प्रतिज्ञा गरेको थियो र ?  ऊ त्यसो नभए के भयो त ? प्रतिस्पर्र्धी सहअस्तित्व अझै सम्भव छँदै छ । यो लेख दि न्यूवर्क दैनिकमा प्रकाशित छ ।

                                                                                                                                                                                          झोउ बो, चीनको पिपुल्स लिबरेसन आर्मीका वरिष्ठ कर्नेल हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर