• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भारतसँग व्यापार सम्बन्धमा असन्तुष्ट छन् ट्रम्प

एजेन्सी । आगामी साता २४ र २५ फेब्रुअरीमा भारत यात्रामा जान लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनै पनि बेला गर्न सक्ने बताएका छन् । 

उनले उक्त सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव अघि हुने–नहुने भन्ने कुरामा आफू अनभिज्ञ रहेको पनि बताएका छन् ।

वासिंटनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना व्यक्त गरेका छन् । ‘तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं’, उनले भने । 

समाचार एजेनसी पीटीआईले आफ्नो एक रिपोर्टमा ट्रम्पको यात्राको क्रममा भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।

ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि उत्साहित भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ, उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच सत्तरी लाख जनता हुने बताएका छन् । अहिले बनिरहेको उक्त स्टेडियम संसारकै ठूलो स्टेडियम भएको मलाई थाहा छ । उनले मलाई एयरपोर्ट र स्टेडियमबीच सत्तरी लाख मानिस हुने बताएका छन्, त्यो निकै रोमाञ्चक हुनेछ ।’

हिजोआज अमेरिका र भारतको व्यापार सम्बन्ध त्यति राम्रो छैन । राष्ट्रपति ट्रम्पले मोदीको तारिफ त गरे तर भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि पनि व्यक्त गरे ।

उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गर्दैन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’

यस भ्रमणका बेला दुई देशबीच व्यापार सम्झौता हुन सक्ने अनुमान लगाइएको छ, तर ट्रम्पले भने सम्भावित सम्झौताका लागि केही समय लाग्न सक्ने संकेत दिएका छन् । अमेरिकालाई भारतको सबैभन्दा ठूलो व्यापार सहयोगी देशको रुपमा हेरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर