छिन्चु बजार दुई दिनदेखि तनावग्रस्त, बजार तथा सवारी साधन ठप्प

सुर्खेत । फोर्स गाडीले ठक्कर दिएर एकजनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चु बजार तनावग्रस्त बनेको छ । भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे एकजना बाटोको साईडमा बसिरहेका एकजनालाई फोर्सले हानेको थियो ।

गाडीको ठक्करबाट मृत्यु भएपछि आफन्तहरुले बुधवार बिहानदेखि छिन्चु बजारका पसल तथा सडक बन्द गराएका छन् । बुधवारदेखि छिन्चु भएर आवतजावत गर्ने सवारी साधन पूरै ठप्प छन् ।

भेरीगंगा नगरपालिका–४ का राजु बोहरालाई साईडमा आफू सवार मोटरसाईकल रोकेर कुरा गरिरहेको अवस्थामा बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । ठक्करपछि घाईते भएका बोहरको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

सडक बन्द गराउँदा जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटबाट छिन्चु हुँदै बाहिरिने र भित्रिने यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बुधवार बजार तथा सडक बन्द गराएका थिए । बुधवार साँझ क्षतिपूर्तिका लागि आफन्त र सवारी धनीबीच सहमति गराइए पनि सम्बन्धित समितिले दुर्घटना हुँदा गाडी चलाउनेभन्दा अर्को चालक पेश गरेपछि फेरि आन्दोलन सुरु भएको हो ।

सहमतिका लागि आज पनि छलफल भईरहेको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिईन् ।

झडप हुँदा पाँच जना घाईते
यही विषयमा भएको आन्दोलनका क्रममा बिहिवार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पाँच जना घाईते भएका छन् । घाईते हुनेहरुमा लालबहादुर घर्ती, बुद्धि नेपाली र तारा खत्री लगायत रहेका छन् ।

सुरक्षाका लागि वीरेन्द्रनगरबाट थप सुरक्षा कर्मी छिन्चु ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर