सोलु करिडोर प्रसारण लाइनको अवरोध हटाउने प्राधिकरणको प्रयास

उदयपुर । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका—४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ ।  स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नु पर्ने छ ।
जारी अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो ।  
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले अवरोधस्थलको निरीक्षण गरी प्रस्तावित प्रसारण लाइन रुटको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरेको छ ।
छलफलमा कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण प्रकृयाहरु पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने प्रष्ट पारे । 
‘घनावस्ती र खेतियोग्य जमिनलाई कम क्षति पुग्ने गरी रुट तय गरिएको छ, यो लाइन तत्काल बनाउन सकेनौं भने निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर ठूलो रकम क्षतिपूर्ति तिर्नु पर्ने अवस्थामा छौं, यस्तो संवेदनशील आयोजनाको अहिले आएर रुटलाई अलिकति पनि दायाँवायाँ गर्यौं भने लाइन नै बन्दैन, त्यसैले रुट सार्न सकिंदैन’,उनले भने । 

प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमूनि ९÷९ मिटर दायाँ र वायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिंदै आएको छ ।
मेयर श्रेष्ठले अवरोध हटाएर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण सम्पन्न गर्न नगरपालिकालेसक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धता जनाए । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर