• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

...प्रधानमन्त्रीज्यू, अब स्वास्थ्यलाभ गर्न गइदिनोस्

संचारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं । यो वार्तालाप सम्मानीय प्रधानमन्त्री ज्यूले केही महिनाअघि सुन्नुभएको भन्ने अनुमानमात्र हैन्, दाबीहरु संचारमाध्यममा छापिएका छन् । बजिरहेका छन् । यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन् ? 

प्रधानमन्त्रीज्यू सँग हिम्मत छ कि छैन मलाई थाहा छैन । तर, संसदसँग यो हिम्मत हुनैपर्छ । ध्यानाकार्षण मात्र हैन सभामुख महोदय, संसदले यो सामथ्र्य राख्नैपर्छ । सम्माननीय प्रधानमन्त्री ज्यू डाँडाँकाँडाँ डुलेर बस्ने होइन्, तालतलैया हेरे बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ । हाम्रो प्रश्नको सामना गर्नपर्छ । 

हामी उहाँलाई निम्छरो हैन्, सही प्रश्नहरु सोध्ने छौं । सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न आग्रह गर्दछु । 
प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ थाहा छैन, तर उहाँका आसेपासेहरु अझै भन्नुहुन्छ, उहाँलाई केही थाहा थिएन् । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दैगर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीको भनाईको आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यो कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिन पर्ने ?

हामीले पत्याउने नै हो भने, हाम्रो प्रश्न रहन्छ, यी सबै कुराहरु तपाँईलाई थाहा थिएन भने तपाईंलाई के थाहा छ ? प्रधानमन्त्री ज्यू तपाँईलार्य थहा छ, नागरिकहरु के भन्दैछन् ? 

यो सेकुरिटि प्रिन्टको मात्र होइन, स्टाटलाइटको ठेक्का, फोर जी विस्तारको ठेक्का, हप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको, सामूदायीक विद्यालयमा कम्प्युटर ल्याब विस्तार गर्ने, स्वास्थ्य संस्था वडा, विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट पुर्याउने लगायतका सबै ठाउँहरुका बारेमा प्रधानमन्त्रीज्यूलाई सबै थाहा थियो । अहिले परिस्थिति बाहिर गएपछि अहिले गोकुल बास्कोटालाई ‘बलिको बोका’ बनाइयो भनेर नागरिहरु भनिरहेका छन्, तपाईंलाई थाहा छ ? 

प्रधानमन्त्रीज्यू, भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहोर्याउनु भएको छ, तर नागरिहरु तपाईंलाई प्रश्न गर्दैछन्, बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दैछन् । प्रधानमन्त्रीज्यू तपाईंलाई थाहा छ ?

प्रधानमन्त्री ज्यू, तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन्, तर यी संसदको लबिमा भेट्दैगर्दा झिनो स्वरमा हामीलाई कानेखुसी गरेर भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले पहिले माक्र्सवादीजस्तो देखिनुहुन्थ्यो, बिचमा समाजवादीजस्तो देखिनथाल्नुभयो, आजभोलि यताबाट हेरेपनि उताबाट हेरेपनि यतीवादीजस्तो मात्र देखुनुहन्छ भन्छन् । प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ ? 

प्रधानमन्त्री ज्यू, तपाईंलाई थाहा छ, एमसीसीको विषयमा तपाईंको पार्टीका ठाँटी नेताहरुले जसरी तपाईंलाई तह लगाइदिएका छन्, अनि दुईदिनअघि मात्रै अहिले जति जालझेल गरेर होइन होइन भनेपनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषयलाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गडर्ने कार्यदल बनाउने कुरामा तपाईं जति कमजोर देखिनुभयो, बाहीर के भन्दैछन् थाहा छ ? 

देखिँदाखेरी सुरो यथार्थमा बिचरो भन्दैछन्, प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ ? 

प्रधानमन्त्रीज्यू, तपाईंको जन्मदिनको विषयलाई लिएर म कुरा गर्न चाहन्न, यो तपाईंको नितान्त व्यक्तिगत कुरा हो । मेरो तपाईंलाई शुभकामना छ । तर, जनता के भन्न थालेका छन् थाहा छ ? प्रधानमन्त्रीज्यूको रासीठाँटकासाथ मनाइएको जन्मोत्सवले ०६०÷०६१ सालको राजाको न्यास्रो मेटाइदिएको छ भनेर भन्दैछन् । पूर्वराजा, यसैगरी हिँडिबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाईबक्सन्थ्यो । सबैले जयजयकार गर्थे । अनि आफ्नो भारद्वालाई सोधिबक्सन्थ्यो, एकदुईजना मानिसहरु यताउता विरोध गरिरहेका छन् नी ? अनि भारद्वादले भन्थ्यो, महाराज सबै ठिक छ, यी एकदुईजना मानिसहरुमात्र महाराजको विरोध गरिरहेका छन् । 

प्रधानमन्त्रीज्यू मात्र होइन्, जन्मोत्सव मनाउँदै गर्दा वरिपरि जुन भीडभाड देखियो, यो देख्दैगर्दा, प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्रको भारद्वाको न्यास्रोपनि हामीलाई मेटाइदिएका छन् । 

प्रधानमन्त्रीज्यू, तपाईंलाई के थाहा छ के छैन मलाई थाहा छैन् । थाहा पाउनुनी छैन् । मलाई यति कुरामात्र थाहा छ । तपाईंले यी सबैकुरा थाहा पाउनुभएको छ र नपाएजस्तो गरिरहनुभएको छ भने, त्यो पाप हो । 

तपाईंले केहीपनि कुरा थाहा पाउनुभएको छैन भने त्यो अक्षमता हो । संख्या तपाईंसँग होल प्रधानमन्त्री ज्यू, तर यी दुवै अवस्थामा शासन गर्ने वैधानिक योग्यता क्षमता तपाईंले गुमाउनुभएको छ । 

त्यसैले प्रधानमन्त्रीज्यू, नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्यलाभ गर्न गइदिनोस् धन्यवाद ।’

(मंगलबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर कांग्रेस सांसद गगन थापाले राखेको धारणाको सम्पादीत अंश’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर