• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम– ११ सेमिफाइनलमा प्रवेश

धनगढी । नेपाल आइस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत मंगलवारदेखि क्वाटरफाईनलका खेलहरु सुरु भएका छन् । धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको सुदूरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे । कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एकरएक गोल फर्काए ।

खेलको १०औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो । उद्धव खत्रीको पासमा विक्रमले डिबक्स भित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे । १९औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २–० को बनाए । कंचनजंघाका गोलरक्षक निगम सिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे । 

खेलको २३औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दा आयोजक सुदूरपश्चिम–११ ३–० ले अघि रह्यो । उनले पुन उद्धबको पासलाई सदुपयोग गरे। २८औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कंचनजंघाले अग्रता ३–१ मा झार्यो । 

सुदूरपश्चिमका धनबहादुर थापाले डिबक्स भित्र अमीर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे । खेलको ३९औं मिनेट कंचनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिको थियो । 

डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए । खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ को सहज जित दिलाए । दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे । 

त्यसपछि दुवै टीमले गोल गर्ने प्रयासहरु गरे पनि सफल हुन सकेनन् । खेलको म्यान अफ दि म्याच आयोजकका विक्रम चुनिए । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे। खेलपछि प्रतिक्रिया दिदैं आयोजक सुदूरपश्चिम– ११ का प्रशिक्षक रोहित भण्डारीले सोचे अनुसारको नतिजा भएपनि खेलाडीहरु केही नयाँ भएकोले तालमेल राम्ररी मिल्न नसकेको बताए । ‘सबै खेलाडीबीच कम्बिनेशन राम्रो भएन्, गोलकिपर पनि घाइते भएर समस्या भयो’ उनले भने, ‘डिफेन्स लाइन राम्रो थियो । तर धेरै खेलाडीहरुले तालमेल मिलाउन सकेनन् । अब सेमिफाइनलमा यो खेलका गल्तीहरु सुधार गरेर खेल्छौं ।’ 

विभागीय टिमसँग खेल्न गाहे भएपनि आफुहरु राम्रो खेल्ने प्रशिक्षक भण्डारीको भनाई छ । कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले राम्रो खेलेको भन्दै खेलको सुरुवातमा भएका गल्तीका कारण जितबाट बन्चित भएको बताए । 

‘डिफेन्डसको गल्तीले खेलको सुरुमै तीन गोल खायौं । गोलकिपर पनि पहिलो खेलमा घाईते भएका कारण उसले राम्रो खेल्न सकेन्’ प्रशिक्षक क्षेत्रीले भने ‘खेलमा फाईट ब्याक गर्दै दुई गोल फर्किएको हो । दोस्रो हाफमा सुदूरपश्चिमभन्दा वढी गोल गर्ने मौका पायौं तर फिनिसिङ भएर गोल गर्न सकेनौं ।’ 

पहिलो पटक सुदुरपश्चिममा गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वागमती युवा क्लबलाई टाईब्रेकरमा हराएको थियो । क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले देशकै उत्कृष्ट मध्यको गोल्डकपको बारेमा युट्युबमा हेरेर प्रतियोगिता खेल्न आएको र आगामी दिनमा पनि आउने जानकारी दिए । 

अब सुदूरपश्चिम– ११ ले फाईनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो क्वाटरफाईनलमा बुधबार थ्री स्टार र नव जन जागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५र१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोबाइल पाइरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिइरहेको छ । 

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल बैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ । 

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर