प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाद्वारा दश विकल्पसहित जग्गा प्रस्ताव

विराटनगर । प्रदेश १ को प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले दश विकल्पसहित जग्गा प्रस्ताव गरेको छ ।  महानगरपालिका भित्र १८ कठ्ठादेखि ६८ बिघासम्मका सरकारी स्वामित्वका जमिनमा प्रदेशसभा तथा अन्य आवश्यक पूर्वाधार बनाउन ज्ञापनपत्र मार्फत प्रस्ताव गरिएको हो । 
विराटनगर महामनगरपालिकाका प्रमुख भीम पराजुली नेतृत्वको टोलीले मंगलबार प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । 

विराटनगर–१ को २ विघा १० कठ्ठा, वडा ३ को ५ बिघा १० कठ्ठा, वडा ४ मा १८ कठ्ठा, वडा नं ५ मा ५ बिघा १० कठ्ठा, वडा नं ६ मा ५ बिघा, वडा नं. ७ मा रहेको नेशनल ट्रेडिङको ७ बिघा, विराटनगर–८ मा ५ बिघा १० कठ्ठा, वडा न.ं १३ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको १२ बिघा, विराटनगर जुटमिलको ६८ बिघा र विरानगर १९ मा रहेको ५ बिघा जग्गामध्ये जुनसुकै उपुक्त जमिनमा प्रदेशसभा भवन बनाउन सक्ने प्रस्ताव महानगरपालिकाले गरेको हो । महानगरपालिका प्रमुख पराजुलीले भवन निर्माणका लागि आवश्यक सबै सहयोग गर्न आफु तयार रहेको बताए ।
प्रदेशसभा भवन निर्माणको लागि महानगरपालिका बजेटसमेत उपलव्ध गराउन तयार रहेको भन्दै प्रमुख पराजुली छिटोभन्दा छिटो काम अघि बढाउन आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले महानगरको प्रतिवद्धताले संरचना निर्माणको लागि ऊर्जा मिलेको बताउँदै आफ्नो तर्फबाट प्रक्रियालाई अगाडि बढाउने आश्वासन दिए । प्रदेशसभालाई अहिले हलको अभाव भएकोले प्रदेश सरकारसँग त्यसको लागि आग्रह पनि गरेको सभामुख भण्डारीले जनाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर