रोल्पाको माडीमा बल्यो बिजुली, मन्त्री पुनले गरे उद्घाटन

मानसिंह विक/रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गृहजिल्ला रोल्पाको माडी क्षेत्रमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण प्रणालीबाट बिजुली बलेको छ ।

मन्त्री पुनले घर्ती गाउँमा भएको एक कार्यक्रमबीच माडी गाउँपापलिका अध्यक्ष नन्दबहादुर पुनलाई मिटर बक्स हस्तान्तरण गरेर विद्युतीकरणको आरम्भ गरे । बुटवल पावर कम्पनीले प्यूठानमा निर्माण गरेको झिम्रुक जलविद्युत् केन्द्रबाट माडीमा विद्युत् पुर्‍याइएको हो । 

माडी क्षेत्रका चार सय ग्राहकलाई मिटर बक्स प्रदान गरिएको छ । “दुई वर्षभित्र रोल्पालाई पूर्ण विद्युतीकरण गरिसक्ने मेरो प्रतिबद्धता छ,” उनले भने, ‘अब रोल्पालीले अँध्यारोमा बस्नुपर्दैन ।” निर्वाचनका बेला मन्त्री पुनले आफ्नो कार्यकालभित्रै जिल्लालाई पूर्ण विद्युतीकरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । “निर्वाचनमा मैले मतदाताअघि गरेको प्रतिबद्धता पूरा गरेर छाड्छु,” उनले भने ।

नेपाल विद्युत प्राधिकरण रोल्पाका वितरण केन्द्र प्रमुख श्याम शर्माले  मन्त्री पुनको निर्देशनअनुसार दुई वर्षभित्र रोल्पाका ७२ वटै वडालाई आध्यारो मुक्त बनाइने बताए । शर्माका अनुसार जिल्लाका हरेक वडामा बिजुलीको पोल गाड्ने कामका लागि टेन्डरसमेत आह्वान भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर