गहुँ छोडेर मकै खेतीमा रमाउन थाले किसान 

कतै उम्रिंदै, कतै सुत्ला च्याप्दै 

विराटनगर । मकै खेतीप्रति मोरङका किसानहरुको आकर्षण बढेको छ । अघिल्लो वर्ष मकैको उत्पादन राम्रो भएपछि यो वर्ष झण्डै दोब्बर क्षेत्रफलमा मकैखेती गरिएको छ । 

तराई मधेशमा कार्तिक अन्तिम सातादेखि फागुन अन्तिम सातासम्म हिउँदे मकै खेती गरिन्छ । अहिलेपनि हिउँदे मकै रोप्ने क्रम जारी रहेकोले मकै खेती भएको यकिन क्षेत्रफल प्राप्त भइनसकेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जानकारी दिएको छ । 

अघिल्लो वर्ष १० कठ्ठा क्षेत्रफलमा हिउँदे मकै खेती गरेका मोरङ सुनवर्सी नगरपालिका ५ का गिरिजानन्द यादवले यस पटक २ बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । सो नगरपालिकाका ६० प्रतिशत किसानले यस पटक मकै खेती लगाएका स्थानीय श्यामप्रसाद साहले जानकारी दिए । सुनवर्सी नगरपालिकाका महावीर यादव, शम्भु यादव, पाचु सरदार सोहना सरदार आदि धेरै क्षेत्रफलमा मकै खेती गर्ने किसानहरु हुन् । 

किसानहरुले गहुँ खेती भने घटाएका छन् । गहुँको उत्पादन लागत बढी भएको र फसल पनि कम फल्ने भएपछि किसानहरु वैकल्पिक रुपमा मकै खेती सुरु गरेका हुन् । गहुँको तुलनामा तीन गुणा बढी फल्ने भएकोले पनि किसानहरु मकै खेती तर्फ आकर्षित भएका हुन् । 

यतिबेला हुलाकी राजमार्ग आसपासका खेतमा छिमलछिमलका मकैका बोटहरु देख्न पाइन्छ । कतै उम्रिदै गरेका, कतै गोड्ने बेला भएका, कतै धानचामर निस्किएका त कतै सुत्ला च्याप्दै गरेका मकैका बोटहरुले जिल्लाको दक्षीण पूर्वी क्षेत्र हरभरा छ । 

अमरदह स्थित मानसरोवर सहकारी संस्था लिमिटेडलाई यस पटक हिउँदमा किसानहरुको मलको माग पुरागर्न हम्मेहम्पे प¥यो । अघिल्लो वर्षको माग अनुसार रसायनिक मलको प्रवन्ध गरेको सहकारीले दोब्बर बढी मल आपुर्ती गर्नु परेको थियो । सरकारी अनुदान प्राप्त मल उपलव्ध गराउन सहकारीलाई निकै समस्या भएको सहकारीका सदस्य दिपककुमार राजवंशीले जानकारी दिए ।

 चैते धान लगाउने खेतमा बाहेक बाँकीमा किसानहरुले मकै लगाएका छन् । पहिलेको अमरदह गाउँपालिका अन्तरगतका करिव ५० प्रतिशत किसानले यस पटक मकै खेती गरेको राजवंशीले जानकारी दिए ।

अघिल्लो वर्ष किसानहरुले सुकाएको मकै प्रतिकिलो ३७ रुपियाँको दरले बिक्री गरेका थिए । गहँुको तुलनामा धेरै उत्पादन हुने र मूल्य पनि राम्रो पाएपछि यो वर्ष मकै खेती गर्ने किसानको संख्या बढेको हो । गत वर्ष थोरै क्षेत्रफलमा खेती गरेका किसानले यो वर्ष क्षेत्रफल पनि बढाएका छन् । गत वर्ष मकै खेती गरेका किसानहरुले प्रतिकठ्ठा १० देखि १२ मन (४०० –४८० किलो) सम्म उत्पादन लिएको जानकारी दिएका छन् ।

उनीहरुले हाइब्रिड जातका मकै लगाएका छन् । 

मोरङको रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिका, रंगेली नगरपालिका, जतुवा गाउँपालिका, धनपालथान गाउँपालिका, कटहरी गाउँपालिका लगायतका क्षेत्रमा बढी मकै खेती गरिएको छ । त्यस बाहेक पूर्व पश्चिम राजमार्ग दक्षीण क्षेत्रमा पनि अघिल्लो वर्षको तुलनामा मकै खेती विस्तार भएको हो । यस पटक मकै खेती गर्ने किसान र क्षेत्रफल दुवै बढेको कृषि सामग्री संस्थान विराटनगरका सहायक प्रवन्धक नवरत्न गौतमले जानकारी दिए । उनले गहुँको तुलनामा मकैमा युरिया मलको बढी प्रयोग हुने भएकोले मलको माग पनि बढेको जानकारी दिए । 

प्रदेश १ का १४ जिल्लामा अघिल्लो वर्ष २ लाख ७४ हजार ५ सय ५५ हेक्टर जमिनमा मकै खेती गरिएको थियो । गतवर्ष ७ लाख ७० हजार ९ सय ८५ मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष अघिल्लो वर्षकै तुलनामा मकै खेती लगाइएको र यकिन विवरण भने नआएको प्रदेश कृषि निर्देशनालयका वाली अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिए । उनले झापा, मोरङ र सुनसरीमा मकै खेती गर्ने क्षेत्रफल केही विस्तार भएको अनुमान गरिएको बताए । 

उनले मकै खेतीमा यस पटक पनि छिटपुटरुपमा अमेरिकन फौजी किराको समस्या देखिएको तर त्यसलाई नियन्त्रणमा राख्न सफल भएको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर