ढुंगाागिटी कारोबारीको सिण्डिकेटले करोडौं घाटा 

निकासी कर उठाउन नपाउँदा झन् घाटा

विराटनगर । मोरङको केराबारी गाउँपालिका अन्तरगत पर्ने तीन वटा खोलाबाट ढुंगागिटी उत्खनन् तथा निकासी ठेक्कामा व्यवसायीहरुले सिण्डिकेट लगाउँदा स्थानीय सरकारलाई करोडौं रुपैंया नोक्सानी भएको छ । 

केराबारी गाउँपालिका अन्तरगतका खदम खोला, भलुवा लोहन्द्रा खोला र मुगुखोलाबाट नदीजन्य स्रोत उत्खनन् तथा बिक्री गर्न यो वर्ष पनि ठेक्का लगाइएको छ । जिल्ला समन्वय समिति मोरङले खदम खोलाको प्राकृतिक स्वरुप बिग्रिएको र विगतमै अधिक उत्खनन् भइसकेको भन्दै ठेक्का नलगाउन आग्रह गरेको भएपनि आफ्नो अधिकार क्षेत्र दावी गर्दै गाउँपालिकाले ठेक्का प्रकृया अगाडि बढाएको थियो । 

गाउँपालिकाले स्थानीय तीनवटा खोलाबाट ६ लाख ५० हजार घन मिटर ढुंगागिटी उत्खनन् गरी बिक्री गर्ने गरी ठेक्का लगाएको छ । उत्खनन् क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गरेर परिणाम स्वीकृतिका लागि जिल्ला समन्वय समितिमा पठाएपछि समितिले माग गरिएको परिमाण घटाएर स्वीकृति दिएको थियो । 

गाउँपालिकाले ढुंगागिटी उत्खनन् तथा बिक्री गर्न आर वन कन्स्ट्रक्सन कम्पनी प्रा.लि. लाई मूल्य अभिवृद्धि कर बाहेक १३ करोड रुपैंयाँमा ठेक्का लगाएको छ । जुन अघिल्लो वर्षको तुलनामा निकै सस्तो हो । केराबारी गाउँपालिकाले अघिल्लो वर्ष ४ लाख २० हजार घनमिटर ढुंगागिटी बिक्री गर्ने गरी मूल्य अभिवृद्धि कर बाहेक ११ करोडमा ठेक्का लगाएको थियो । गत वर्ष प्रतिघन मिटर २ सय ६१ रुपैयाँ ९० पैसाका दरले ढुंगागिटी  बिक्री गरेको गाउँपालिकाले यो वर्ष २ सय रुपैंयाँको दरले बिक्री  गर्ने गरी ठेक्का लगाएको हो । यसबाट गाउँपालिकालाई ४ करोड भन्दा बढी नोक्सानी भएको छ । 

गत वर्षको भन्दा २ लाख ३० हजार घनमिटर बढी ढुंगागिटी बिक्री भएपनि आम्दानी भने २ करोड मात्र बढेको छ । गत वर्षको मूल्यलाई कायम राख्दामात्र गाउँपालिकाले थप ४ करोड आम्दानी गर्नसक्ने अवस्था थियो । 

चार करोड रुपैयाँ घाटा हुने भएपनि ठेक्का प्रकृया भने गाउँपालिकाले मिलाएको देखिन्छ । मिलेमतोको आशंका नहुने भन्दै गाउँपालिकले विद्युतीय बोलपत्र मार्फत ठेक्का लगाएको छ । बोलपत्रमा तीन वटा कम्पनीहरुले प्रस्ताव दर्ता गराएका छन् । ति मध्ये दुई वटा कम्पनीको प्रस्ताव न्यूनतम मूल्य भन्दा कम छ भने ठेक्का पाउने कम्पनीले गाउँपालिकाले तोकेको न्यूनतम अंकनै प्रस्ताव गरेको देखिन्छ । कानूनी रुपमा कमजोरी नदेखिएपनि ढुंगागिटी ठेक्कामा व्यवसायी र कर्मचारीबीच मिलेमतो देखिने स्थानीय बताउँछन् । न्यूनतम अंक कायम गर्दा अघिल्लो वर्षको बिक्री मूल्य भन्दा कमले हिसाव गर्नु, अघिल्लो वर्षको तुलनामा सस्तोमा ठेक्का लाग्नु र दुई वटा प्रस्ताव न्यूनतम अंकभन्दा घटी हुनुले कर्मचारीसमेतको मिलेमतोमा व्यवसायीहरुको सिण्डिकेट कायम भएको दावी स्थानीयले गरेका हुन् ।  

व्यवसायीहरुले क्रसर उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउने ढुंगागिटीको उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । अघिल्लो वर्ष १२ हजार रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएको ढुंगागिटीको मूल्य बढेर १३ हजार रुपैंया पुगेको छ । 

बजारमा उपभोक्ता मूल्य प्रतिघन मिटर १७ सय १४ रुपैयाँबाट वृद्धि भएर १८ सय ५७ रुपैयाँ पुगेको छ । तर स्थानीय सरकारले प्राप्त गर्ने राजश्व भने ४ करोड भन्दा बढी घाटा भएको छ । 

ढुंगागिटी ठेक्का प्रकृयामा अनियमितता हुन नदिन विद्युतीय बोलपत्र आव्हान गरिएकोले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलले बताए । उनले प्रकृयागतरुपमा तीन वटा प्रस्ताव दर्ता भएको र प्रकृया अनुसार नै आर वन कन्ट्रक्सनको प्रस्ताव स्वीकृत भएको जानकारी दिए । गाउँपालिकाले कायम गरेको न्यूनतम अंकमै ठेक्का लागेको उनले बताए । उनले अघिल्लो वर्षको तुलनामा बढी परिमाण बिक्री हुँदा सोही अनुसार आम्दानी नबढेको भन्ने विश्लेषण ठिकै भएपनि कायम गरिएको न्यूनतम रकममै ठेक्का लागेकोले अन्यथा बुझ्न नहुने बताए । 

निकासी कर उठाउन नपाउँदा झन् घाटा
केराबारी गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष निकासी कर वापत ५ करोड ८० लाख रुपियाँ आम्दानी गरेको थियो । सरकारले निकासी कर लिन नपाउने गरी नयाँ कानूनी व्यवस्था गरेपछि यो वर्ष केराबारीको आन्तरिक आम्दानी सोझै ५ करोड ८० लाखले घटेको छ भने यस वर्षको ढुंगागिटी बिक्री मूल्य कम निर्धारण गर्दा ४ करोड बढी घाटा भएको छ । समग्रमा गाउँपालिकालाई १० करोड नोक्सानी भएको छ । 

रोकिएन चोरी निकासी
केरावारी आसपासका खोलाबाट ढुंगागिटी चोरी तस्करी गर्ने क्रम रोकिएको छैन । ट्रयाक्टर तथा ट्रिफर व्यवसायीहरुले ढुंगागिटी चोरी गरेर क्रसर उद्योगीलाई बिक्री गर्ने धन्दा केही समयदेखि चलिरहेको छ । ठेक्का लागेको ठाउँमा ठेकेदार कम्पनीले राजश्व संकलन गर्ने गरेको भएपनि ढुवानी व्यवसायीहरुले रातिको समयमा अन्यत्रैबाट उत्खनन् गरेर क्रसरसम्म पु¥याउने गरेका छन् । त्यस विषयमा स्थानीयले पटक पटक प्रहरीलाई जानकारी गराएपछि प्रहरीले नियन्त्रणमा चासो नदिएको नाम उल्लेख नगर्ने सर्तमा केरबारीकै एक जनप्रतिनिधिले बताएका छन् । ‘स्थानीयले चोरी भइरहेको छ भनेर गाडी नम्बरसहित जानकारी दिँदा पनि प्रहरीले चासो दिँदैन,’ उनले भने, ‘बरु प्रहरीले तपाईको उजुरी आयो जोगिएर काम गर्नु होला भनिदिने रहेछन् ।’ 

ढुंगागिटी चोरी भइरहेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक खड्ग राईले चोरी नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताएका छन् । उनले आफ्नै स्रोतबाट सूचना संकलन गर्ने र स्थानीयबाट प्राप्त हुने सूचना अनुसार तत्काल घटनास्थलमा पुग्ने गरेको बताए । ढुंगागिटीको क्षेत्र भएकोले छिटफुटरुपमा कतै चोरी भएको भए नियन्त्रणकालागि प्रयत्न गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर