प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ : मन्त्री फुयाँल

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको स्थलगत निरीक्षण गरेका छन् । 

मन्त्री फुयाँल वाग्मती प्रदेशको गौरवको योजना हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामबारे जानकारी लिन आज निर्माणस्थल पुगेका हुन् । सो क्रममा प्राविधिक टोलीका इञ्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले मन्त्री फुयाँललाई सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराएका छन्  । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिए ।

उनले करिब डेढ महिनाभित्र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताए । जियोलोजिकल सर्वे तीन दिनपछि शुरु हुने उनले बताए । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि  १० डिजाइनिङ, २० सोयल इन्भेस्टिगेशन, पाँच टापोग्राफिक, पाँच जियोफिजिकल र पाँचले ड्रोन सर्वे गरी ४५ कार्यस्थलमा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

वाग्मती प्रदेश सरकारले वैशाख २०७७ भित्रै सुरुङमार्गको ग्लोबल बोलपत्र आह्वान गर्ने गरी काम अगाडि बढाएको भौतिक विकासमन्त्री फुयाँलले जानकारी दिए । उनले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन जनमानसलाई आग्रह गरेका छन् । मन्त्री फुयाँलले भने “यो प्रदेशकै गौरव योजना हो । कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्छ विश्वस्त हुनुस् । अब हामी आगामी वैशाखभित्रै बोलपत्र आह्वान गर्दैछौँ ।” 

सुरुङमार्ग निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, पूर्व्जिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायत थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर