कोरोनाका कारण मिनापको होली महोत्सव स्थगित नहुने, रंगको साटो फुलको प्रयोग गरिने

जनकपुरधाम ।  होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । मिथिलाञ्चलमा जोगिरा..(फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको हो । मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन यस वर्ष फागुन २५ र २६ गते आयोजना गर्न लागेको छ ।

दुई दिवसीय होरी महोत्सवको पहिलो दिन जोगिरा गायन प्रतियोगिता गरिने छ । जोगिरा गायनमा विभिन्न १० टिमलाई शामिल गर्ने तयारी भईरहेको मिनापका सचिव सन्दिप साहले जानकारी दिएका छन् । जसमा धनुषाको गिद्धा बेलापटी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरीको एको टिमका साथै मिनापको टिमले समेत सहभागिता जनाउने छ । जोगिरा गायन प्रतियोगितामा सहभागी हुने शिर्ष तीन टिमलाई शिल्ड प्रदान गरिने छ । यसका साथै जोगिरा गायन प्रतियोगितामा सहभागी हुने अन्य टोलीलाई समेत सान्त्वना पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ । 
कोरोनालाई लिएर सचेत छौँ ः मिनाप 

मिनापले यस वर्ष कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्नो कार्यक्रमको शैलीमा परिवर्र्तन ल्याएको छ । कोरोना भाइरस प्रति हामी सचेत छौँ मिनापका अध्यक्ष परमेश झाले बताए । मिनापले यस बर्ष कोरोनालाई मध्यनजर गर्दै कार्यक्रमस्थलमा उपस्थित सबैजनालाई मास्क वित्तरण गर्ने र अविरको सट्टा फूलको प्रयोग गरेर होरी महोत्सव एवं महामूर्ख सम्मेलन मनाउन लागेको छ । मिनापले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष परमेश झाले २५ गते आईतबार डम्फा वादनबाट उदघाटन गरिने कार्यक्रममा होरीमाथि चर्चा परिचर्चा, निश्चित मापदण्ड अनुसार होरी गायन, उत्कृष्टताको चयन र पुरस्कार वित्तरण गरिने जानकारी दिए । कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उदघाटन गरि होरी गायन, मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुती, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वित्तरण, मूर्ख महामूर्खलाई सम्मान तथा प्रेमोपहार वित्तरण सँगै समापन गरिने जानकारी दिए । 

उनले यस पटकको होरी महोत्सवमा कोरोना भाईरसको विषयमा समेत सचेतना कार्यक्रम गरिने जानकारी दिए । मिनापका पुर्व अध्यक्ष सुनिल मल्लिकले यो पर्व एक प्रकारले महोत्सवका साथै परिक्रमाको परिपुरक रहेको बताए । 

महामुर्खका लागि अन्तिम सूची तयार
जनकपुरधाममा मनाईने होली महोत्सवको प्रमुख आकर्षण मध्ये महामुर्ख सम्मेलन एक हो ।फागु पर्वको प्रमुख आकर्षण मध्येको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ । मिनापले महामुर्खका लागि आधा दर्जनभन्दा बढी विशिष्ट व्यक्तिहरुको सूची तयार पारी सकेको छ । त्यो सूचीमध्ये कुनै एकजनालाई यो महत्वपूर्ण उपाधी प्रदान गरिने जानकारी मिनापका अध्यक्ष परमेश झाले दिएका छन ।

स्रोतका अनुसार पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, प्रदेश दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मध्ये कुनै एक जनालाई महामुर्खको उपाधी प्रदान गर्ने प्रबल सम्भावना रहेको छ ।  

जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२मा एमाले नेता शीतल झा, २०६३मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४मा तत्कालिन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा नेपाली काँग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादव, २०७०मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजय कुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२मा श्मसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो भने २०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो । गत वर्ष महामुर्खको उपाधी राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर