तिलोत्तमा शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा

सरसफाईको इतिहासमा नयाँ कामको सुरुवात् : मन्त्री भुसाल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । स्थानिय तहहरु मध्ये तिलोत्तमा मुलुककैं पहिलो  शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको हो ।

शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरे । 

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ । 

नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएको नगरपालिकाले जनाएको छ  । 

कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताए । शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा दिदै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताए । तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उनले सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गरे । 


प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताए । प्रदेश सांसद दधिराम न्यौपानेले शुन्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोंच, आनीबानी रुपान्तरणसँग जोडिएको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताए । 

बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । 

सिम नेपालसँगको सहकार्यमा यहाँ सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको हो । नगर प्रमुख घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एक लाख नगरबासी सहभागी भएको बताए । 

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई अभियान सञ्चालन भैरहँदा नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शुन्य पोलिथिन अभियान चलाएको हो । मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढाकाले बताए । यो अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिन तिलोत्तमावासीलाई आग्रह गरे । 

तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले नगरबासीले यो अभियानमा देखाएको सक्रियता, सहकार्य र कर्तव्यबोधले तिलोत्तमाबासी हुनुलाई एकपटक फेरी गौरवान्वित बनाएको उल्लेख गरिन । यो अभियानको सफलताले तिलोत्तमाबासीको चेतनास्तर, दायित्वबोध र सहकार्यलाई मुलुकभर परिचित गराएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर