• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ । 

कञ्चनपुरको पश्चिमिनाका गड्डाचौकीबाट शनिबार बिहान मात्रै दश हजार भन्दा बढी नेपालीहरु घर फर्किएका छन ।

घर फर्किनेहरुका लागि सुदूरपश्चिम प्रदेश सरकार, नेपाली सेना, भीमदत्तनगरपालिका लगायतका निकायले गड्डाचौकीमा स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाएका छन् ।

नेपाली सेनाका तर्फबाट श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजं मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ ।

‘बिहान एक्कासी घर फर्किनेको भीड बढेपछि स्वास्थ्य परीक्षण गर्नै सकसको स्थिती सिर्जना भएपनि हामीले त्यसको व्यवस्थापन ग¥यौं ।’ गुल्मपति सेनानी मल्लले भने,‘स्वास्थ्य परीक्षणमा अहिलेसम्म केही मानिसमा समान्य ज्वरो देखिएपनि अरु समस्या छैन ।’

सिमा क्षेत्रमा उच्च सर्तकता अप्नाउदै सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक खटिएको छ । बिहान ज्वरो नाप्ने मेसिनको अभाव देखिएपनि तत्काल प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गड्डाचौकीमा खटिएको स्वास्थ्यकर्मीको टोलीलाई थप दुई थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएका छन् । 

त्यसैगरी मिसानाकामा कञ्चनपुर उद्योग बाणिज्य संघले पनि जनचेतानामुलक कार्यक्रमसहितको माइकिङ्ग गरिरहेको छ । ‘ज्वरो बढी देखिए हाम्रै निगरानीमा चिकित्ससहितले सेवा प्रवाह गरिएको छ ।’ सेनानी मल्लले भने, ‘थप शंका लागे एम्बुलेन्समा महाकाली अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा राख्ने प्रवधन्ध मिलाइएको छ ।’

मुख्यमन्त्रीद्वारा सिमानाका अनुगमन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन् । मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था समेत बुझेका हुन् ।

आज भारतका विभिन्न सहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गरे । उनले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गरे । 

मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरे । उनले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ । त्यसैगरी शनिबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेको छ ।

सिमानाको अनुगमनका क्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए ।

‘सिमानाकाबाट नेपालीहरु घर फर्किने क्रम बढेकोले सिमाना सर्तकता अप्नाउन लागिएको छ ।’ उनले भने, ‘थप सुरक्षा र सर्तकता अप्नाउन संघीय सरकारसित पनि सहयोग र समन्वय हुन्छ ।’

कैलाली र कञ्चनपुरमा बृहत रुपमा तयारी भइरहेको बताउँदै उहाँले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

मुख्यमन्त्रीसंगै सिमानाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शंकरबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो ।

सो क्रममा सामाजिक विकास मन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराए ।

साथै अनुगमनका क्रममा सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सिमानाकामा अप्नाइएको सर्तकता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस संक्रमण हुन नदिन शनिबार बैठकबसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

उनले गड्डाचौकी नाका बाहेक कञ्चनपुरका अन्य सबै नाकाहरुबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताए ।

‘गड्डाचौकीकाट स्वदेश फर्किएका नेपालीहरुलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिर्वाय स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसित समन्वय गर्ने निर्णय भएको छ ।’ प्रजिअ खतिवडाले भने,‘यहाँको महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौं ।’

उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मीहरु र एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा राखिएको जानकारी समेत दिए ।

बैठकले भीमदत्तनगरमा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाईै तत्काल क्यारेन्टाइन स्थलको रुपमा प्रयोग गर्ने निर्णय समेत गरेको छ ।

सबै तस्बिरहरु : पदम राज भट्ट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर