कोरोनाको त्रास : व्यवसायीलाई ब्याज तिर्ने चिन्ता

सुर्खेत । विश्वमा नै महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस को जोखिमका कारण पछिल्लो समय व्यापार, व्यवसायतर्फको चहलपहल घट्दै गएको छ । कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगरमा पनि ५० प्रतिशत ग्राहक कम आउने गरेका छन् । कोरोनाको जोखिमसँगै घट्दो व्यापारका कारण व्यापारीहरु भने चिन्तित बनेका छन् ।

लत्ताकपडासँगै, खाद्यन्न लगायतका दैनिक उपभोग्य सामान किन्ने ग्राहक ५० प्रतिशतले घटेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए । कोरोना भाइरसको जोखिमका कारण व्यापारीहरुलाई घाटा भएको रावतले बताए ।

वीरेन्द्रनगरस्थित राजु कलेक्सनका सञ्चालक राजुले पाण्डे व्यापारमा आएको गिरावटले ऋण झन थपिन थालेको बताउँछन् । ‘बैंकबाट लिएको ऋणको चौमासिक किस्ता बुझाउने बेला आएको छ, बजारमा व्यापार भएको छैन,’ उनले भने, ‘कोरोनाको डरले ग्राहक आउनै छाडे, व्यापार धेरै खस्किईसकेको छ ।’
सरकारले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै बढाएको सतर्कतासँगै व्यवसायीलाई पनि सहजता हुने वातावरण मिलाउनुपर्ने पाण्डेले बताए । 

‘सरकारले कोरोनाको बारेमा जसरी सजकता अपनाएको छ, त्यसरी हामी व्यापारीको मर्कालाई सरकारलले बुझिदिए हुन्थ्यो,’ उनले भने, ‘बैंकको ब्याज जसरी पनि दिनुपर्छ, तर आजभोलीको अवस्था अन’सार अर्को चौमासिकसम्म ब्याज तिर्न सक्ने वातावरण बनाउन सके सहज हुन्थ्यो ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष रावतले राज्यको झन्झटिलो कर नीतिले गर्दा पनि अहिले विश्वमा फैलिएको कोभिड १९कोरोना भाइरसको जोखिममा व्यवसायीहरुले घाटा व्यहोर्नुपरेको बताए ।

‘कोभिड–१९ को जोखिमका कारण हामीजस्ता व्यापारीहरुलाई त घाटा लागेकै थियो, त्यसमाथि बैंकको चर्को ब्याजले ऋण लिएर व्यवसाय गर्ने र ऋण भएका सामान्य नागरिकलाई पनि मार परेको छ ।’ रावतले भने ।

सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारी व्यवसायीको सहजताको लागि सरकारले बैंकसँग समन्वय गरिदिनुपर्ने बताउँछन् ।

‘अहिले देशभर व्यवसायमा गिरावट आएको छ, हाम्रो पनि व्यवसाय निकै घटेको छ,’ उनले भने, ‘बंैकको चर्को ब्याजले गर्दा हामीलाई समस्या भएको छ, तत्कालका लागि सरकारले अहिलेको समेत गरी अर्को चौमासिकमा ब्याज तिर्नेगरी बैंकहरुसँग समन्वय गरिदिए हामीजस्ता व्यवसायीको समस्या टथ्र्यो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर