• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण नियन्त्रणका लागि बनेको सरकारी उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

समितिले कोलकोत्ता बाट नेपालको भन्सारमा विन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर