• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लकडाउनमा ज्याला मजदूरी गर्नेलाई सकस

 मार्तडी  । दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलका लागि चामल आयो ।  सिंह ट्रकबाट सामान पसलमा खसाल्ने मजदूरको खोजी गर्दै थिए । सोही समयमा तीन महिला र १६ वर्षमुनिका दुई जना कामको पर्खाइमा थिए । साहुको गाडी आए सामान बोकेर पैसा कमाउने उनीहरु बजारमा हेरिरहेका थिए । 

त्यही समयमा गाडी आयो र बजारमा गएर सामान गाडीबाट लिँदै पसलमा राखे । यसरी नै जिल्लाका कतिपय महिला र किशोरको दैनिकी बनेको छ । गौमूल गाउँपालिका–१ अम्लिस घर भई हाल मार्तडीमा बस्दै आएकी ३० वर्षीया कम्पनी रोकायाको दैनिकी यसरी नै बितेको छ ।  पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउन घरको गुजारा चलाउनका लागि सामान बोक्ने गरेको रोकायाले बताइन् उनी भन्छिन् ‘पारिवारिक आर्थिक कमजोर भएर नै ज्याला मजदूरीसँगै भारी बोकेर छोराछोरी र घरपरिवार चलाउने गरेको छु ।’
 
रोकायाका दुई सन्तान छन् । श्रीमान् पनि मार्तडीमै कसैको ठेक्कापट्टाका योजनामा काम गर्दै पैसा कमाउने गर्छन् । दुवै सन्तानलाई पढाइ खर्च र लुगा कपडा किन्नसमेत पैसा नहुँदा ज्यालामा मजदूरी गर्दै भारी बोक्नुपर्ने बाध्यता रहेको रोकायाको भनाइ रहेको छ । अहिलेको परिस्थितिअनुसार चल्नका लागि पनि भारी बोक्दै घर खर्च चलाउनु पर्ने गुनासो रोकायाको छ । रोकाया बिहानै बजारमा जाने र दिनभरि भारी बोकेर ल्याएको पैसाले चामल नुनतेल लिएर मात्र चुलोमा आगो बल्ने गरेको दुखेसो गर्छिन् ।
 
रोकायाजस्तै त्रिवेणी नगरपालिका–८ कालापानीकी गंगा गिरी पनि मार्तडी आएको करीब चार वर्ष बित्न लाग्यो । उनको आफन्तसंँग गाउँमा झगडा भए पनि  छोराछोरीसहित मार्तडीमा मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएकी छन्  ।दैनिकी नै बनेको छ । बिहान सबेरै  उठेर बजारमा कुन साहुजीको गाडी आयो भनेर कुरेर बस्ने गरेको गिरीले बताइन् ।
 
अहिले  खासै कमाइ नभएका कारण कोठा भाडा र ग्यास किन्नका लागि पैसाको  अभाव भएको गिरीले दुखेसो पोखिन् । उनले कोराना भाइरसका  कारण सरकारले गाडी चल्न नदिने र पसल बन्द गरेपछि दैनिक भारी बोकेर गुजारा चलाउदै आएका उनी जस्ता अन्य सर्वसाधारणलाई निकै सकस भएको  छ ।
गिरीलाई लकडाउनका विषयमा कुनै चासो छैन । सरकारले गरेको लकडाउन भन्दा पनि उनको पैसा कमाउनमा बढी ध्यान छ । दिनमा कसैको भारी बोकेर ज्याला नपाएपछि रातभरि निद्रासमेत नलाग्ने गरेको उनको भनाइ छ । 

छोराछोरीलाई कसरी स्कल पढाउने, उनीहरुलाई कहाँबाट कपडा किन्नेलगायत पारिवारिक रुपमा चिन्ता हुने गरेको गिरी बताउँछिन् । रोकाया र गिरी जस्तै गौमूल गाउँपालिका–२ दहकोटकी सीता रोकायाको दैनिकी भारी बोक्ने र छोराछोरीलाई पढाइ खर्च जुटाउने हो । उनी मार्तडी बसेको दशक बित्यो ।  उनले दश वर्षदेखि नै भारी  बोक्दै छोराछोरीलाई निजी क्षेत्रका विद्यालयमा अध्ययन गराउँदै आएकी छन् । घरमा कोही पनि जागिरे नभएपछि ज्याला मजदूरी गरेर नै घर खर्च चलाउनुपर्ने अवस्था रहेको रोकायाले बताइन् ।
   
 मजदुरी नगरे जीवीकोपार्जन नहुनेहरुको  केही व्यवस्थापनका लागि बडीमालिका नगरपालिका छलफल भइरहेको  नगर प्रमुख पदम बडुवालले बताएका छन् । 
  मजदूरको पहिचान गरी नगरपालिकाले गर्ने सहयोगका लागि छलफल भइरहेको  बडुवालको भनाइ रहेको छ ।   प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेका अनुसार दैजिनक मजदूरी गरेर खानेहरुलाई केही पनि व्यवस्था नभएको बताए । उनले टेलिफोनमार्फत लकडाउनमा मजदूरी गरेर जीविकोपार्जन गर्नेलाई कुनै व्यवस्था नभएको प्रतिक्रिया दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर