• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोरोना कहर : कसरी काम गर्दैछन् नेपाली मिडिया ?

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) काे संक्रमण देखिएसँगै नेपाल सरकारले पनि अघिल्लो मंगलबारदेखि देशैभर ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन्, सीमाहरु बन्द छन् सवै उडानहरु बन्द गरिएका छन् । नागरिकलाई घरबाट ननिस्कन सरकारले फरमान जारी गरेको छ । 

राज्यको चौंथो अंगको रुपमा अर्थ लगाउने गरिएको मिडिया क्षेत्र भने संकटका बीच पनि कर्तब्यबाट पछि हटेको छैन । बाह्य आवागमन तथा सम्पर्क गर्दा कोरोना भइरसको संक्रमण फैलने त्रास र उद्योग व्यापार क्षेत्र ठप्प हुंदा रोकिएको आर्थिक गतिविधिका कारण कतिपय छापा मिडियाले प्रकाशन रोक्ने निर्णय लिएपनि विद्युतीय संचारमाध्यम सक्रिय छन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले गरिरहेका पहल, यसबाट बच्ने उपाय, सरकारले लकडाउन गरिरहेको बेला जनमानसमा परेको असर लगायतका विभिन्न विषयहरुमा यतिबेला मिडिया क्षेत्र संवेदनशील रुपमा सूचना प्रवाह गरिरहेका छन् । 

कान्तिपुर मिडिया ग्रुपमार्फत संचालनमा रहेको कान्तिपुर दैनिकले शुक्रबारदेखि दैनिक तथा साप्ताहिक पत्रिका प्रकाशन बन्द गर्यो । संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै छापा माध्यमले आफ्ना प्रिन्ट संस्करण बन्द गरेर अनलाइन पोर्टल तथा टेलिभिजन र रेडियो मात्र सञ्चालन गर्न थालेका हुन् ।  

कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक, दी काठमाडांै पोष्ट, साप्ताहिक र नेपाल म्यागेजिनको प्रिन्ट संस्करण अवस्था सामान्य नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

एक विशेष सम्पादकीय मार्फत कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राखेर प्रिन्ट संस्करण बन्द गरेको कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाले बताए । 

यस्तै, हिमाल मिडियाले पनि साप्ताहिक रुपमा प्रकाश गर्दै आएको हिमाल खबरपत्रिकार र नेपाली टाइम्सको प्रिन्ट संस्करण स्थगन गर्ने निर्णय गरेको छ । अन्य साप्ताहिक पत्रिकाहरुले सामुहिक रुपमा प्रकाशन स्थगनको निर्णय गरिसकेका छन् । 

सरकारी स्वामित्वमा रहेको गोरखापत्र दैनिकले पनि यसबारे आज निर्णय लिने बताएको छ । गोरखापत्रका सल्लाहाकार सम्पादक गोपाल खनालले पत्रिका प्रकाशन गरेपनि वितरणमा समस्या भएको भन्दै कर्मचारी र पाठकको स्वास्थ्यलाई ध्यानमा राखेर निर्णय गर्ने बताए ।

सामान्य अवस्थामा २० पृष्ठ प्रकाशन हुँदै आएको गोरखापत्रले अहिले १० पृष्ठ मात्र निकालेको छ भने दी राइजिङ नेपाल १२ पृष्ठबाट ८ पृष्ठमा झारिएको छ ।

त्यस्तै, अहिले प्रकाशनमा रहेका पत्रिकाहरुले घरमै बसेर पत्रकारहरुलाई काम लगाइरहेका छन् । भने, अनलाईनमार्फत आधिकारीक सूचना प्रवाह गर्नमा सबै पत्रकारहरु घरमै बसेर काम गरिरहेका छन् ।

उज्यालो रेडियो नेटवर्कद्वारा संचालित उज्यालो रेडियो पनि सरकारले लकडाउन गरेसँगै संयमित हुँदै सूचना प्रवाह गर्दै आएको छ । उज्यालोले अत्यावश्यक कर्मचारी मात्र कार्यालयमा उपस्थित हुन भनेको छ । स्टुडियोमा जम्मा ४ जना मात्र हुनेगरी अन्य कर्मचारी भने घरबाटै काम गर्ने मिलाइएको सम्पादक मिलन तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार कर्मचारीलाई आवश्यक पर्ने सबै स्वास्थ्य समाग्रीहरु कार्यालयमा व्यवस्था गरिएको छ । रेडियोमा बुलेटिन र कोरोनाबारे विभिन्न प्रकारका सन्देशमूलक कार्यक्रमहरु बजिरहेका छन् । धेरैजसो समाचारहरु अनलाइनमार्फत संचालन गरिएको उनले समाचार दैनिकलाई बताए । 

त्यस्तै, सामुदायिक सूचना नेटवर्क (सीआईएन) बाट प्रसारण हुने समाचार बुलेटिनका लागि पत्रकारलाई कार्यालयमै क्वारेन्टाइनको व्यवस्था गरिएको छ । बिहान र साँझ दुई वटा समाचार बुलेटिन प्रशारण गर्दै आएको सीआईएनले बिहान साढे ११ र दिउँसो साढे २ बजे गरी दुई वटा बुलेटिन थप गरेको छ । 

जनता संचार प्रालिद्वारा संचालित समाचार दैनिकले पनि घरबाटै समाचारको कामहरु गर्ने प्रबन्ध मिलाएको छ । सबै कर्मचारीहरु घरमै आवश्यक स्वास्थ्य सामग्री जम्मा गरेर सुरक्षित रहेर निरन्तर समाचारको काममा जुटिरहेका छन् ।

त्यस्तै, नेपाल लाइभले पनि अत्यावश्यक जनशक्ति बाहेक अरु सबैले घर–घरबाट काम गर्ने प्रबन्ध मिलाएको छ । सम्पादक नारायण अमृतका अनुसार रिपोर्टिङमा जाने संवाददाताहरुलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । साथै, उनीहरुलाई स्वास्थ्य नियमहरु फलो गर्न आग्रह गरिएको छ । ‘मल्टिमिडियाको टीममात्र कार्यालयमा पुगेर काम गर्ने गरेको छ । अहिले ३ देखि ५ जनासम्म मात्र अफिस पुगेका छन् ।’ उनले समाचार दैनिकसँग भने ।

त्यस्तै, रेडियो कान्तिपुरका समाचार प्रमुख पवन आचार्यले एक सिफ्टमा जम्मा ४ जना हुनेगरि स्टुडियो संचालन गरिएको बताए । स्टुडियोमा ४ जना र टेक्निसियन उपस्थित भएर काम भइरहेको उनले बताए ।

अन्य कर्मचारी भने घरबाटै काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार कार्यालयमा विभिन्न स्वास्थ्य सामग्रीसहित सुरक्षित साथ काम भइरहेको छ । कार्यालयमा भीड नगर्नका लागि एक दिन कार्यालय आएर दुई दिन विदा बस्ने व्यवस्था मिलाएको बताए ।

कान्तिपुर टेलिभिजन पनि कम कर्मचारीको उपस्थितिमा काम भइरहेको छ । सम्पादक प्रशान्त अर्यालका अनुसार अत्यावश्यक कर्मचारीहरु कार्यालयमा उपस्थित भएर अत्यन्तै सावधानिका साथ समाचार प्रशारणको काम भइरहेको छ । कार्यालयमा सम्पूर्ण स्वास्थ्य सामग्रीसहित काम गरिएको उनले बताए । 

त्यस्तै, बिबिसी नेपाली सेवामा पनि अत्यावश्यक काम गर्न आवश्यक मानिसहरु कार्यालय उपस्थित भएको र अनलाईनको काम घरबाटै भइरहेको छ । रेडियो नेपालले अत्यावश्यक बाहेकका अन्य कर्मचारीलाई घरमै बसेर काम गर्ने व्यवस्था गरेको छ ।

संकटमा मिडियाको भूमिकाबारे प्राध्यापक पी खरेलः
प्राध्यापक पी खरेल यो बेलामा नेपाली मिडियाले प्राप्त गर्ने स्रोतहरुसँग सकेसम्म निरन्तर सम्पर्कमा बस्नपर्ने बताउँछन् । सधैं प्रतिपक्षीको रुपमा उभिरहने मिडिया क्षेत्रले यो समयमा आफूसँग भएका स्रोतहरु प्रयोग गर्ने बेलाम सम्यमता अपनाउनपर्ने बताउँछन् । 

प्राध्यापक खरेल सरकारले गरेका गल्तीहरुलाई औंल्याउँदै यो महामारीबाट बच्नका लागि मिडिया क्षेत्रको महत्वपूर्ण हात हुने उनले बताए । संवाददाताहरुले आफू सरक्षित हुँदै समाचार प्रवाह गर्नपर्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर